site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नीतिगत सुधार मात्रै होइन, गन्तव्य खोजीमा जोड दिनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी लगानीलाई प्रोत्साहन गर्न ‘रातो कार्पेट’ देखाउनुपर्ने बताएका छन् । पर्यटन पूर्वाधार विकासका लागि नीतिगत सुधारभन्दा पर गएर ‘दृश्य–कूटनीति’, गन्तव्य अन्वेषण, र स्थानीय विविधता खोजी गर्नुपर्ने बताएका हुन् ।

नेपाल पर्यटन बोर्डमा आयोजित ‘दृश्यमा कोसी प्रदेश’ कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन मन्त्रालयको बजेट अन्य मन्त्रालयहरूसँग तुलना गर्दा अत्यन्तै सानो भए पनि ‘देशको सुन्दरता देखाउने’ जिम्मेवारी ठूलो रहेको उल्लेख गरे । 

“सरकार एक्लैले पर्यटन उठाउन सक्दैन, त्यसैले निजी क्षेत्रको लगानी अपरिहार्य छ । तर हामीले उनीहरूलाई शब्दमै होइन, संरचनामा रातो कार्पेट देखाएर स्वागत गर्नुपर्छ,” उनले भने ।

मन्त्री पाण्डेका अनुसार, नेपालमा पहिलोपटक आउँदा पर्यटक आकर्षित भए भने उनीहरूलाई पटक–पटक आउने बनाउने जिम्मेवारी ‘दृश्यको सिर्जना’ मार्फत गर्न सकिन्छ ।

उनले किराँत सर्किटलाई विशेष प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यो सर्किटले पूर्वी नेपालका सांस्कृतिक, धार्मिक र पर्यटकीय सम्पदाहरूलाई दृश्य–संवेदनामा प्रस्तुत गर्न सक्छ । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि नयाँ ढंगका पर्यटकहरूको आगमन बढिरहेको बताए । “अब पर्यटकहरू बनिसकेका गन्तव्य खोज्दै होइन, आफैँ नयाँ गन्तव्य बनाउँदै हिँड्न थालेका छन्,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्