
काठमाडौं । नेकपा (एमाले)का नेता कर्णबहादुर थापाले पार्टीले संविधान, कानुन र जनताको बहुदलीय जनवाद (जबज)को मर्मविपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा नेता थापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेन्डामा समेत नरहेको विषयलाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए ।
निर्णय गर्न राजनीतिक दलहरू स्वतन्त्र भए पनि ती निर्णयहरू संविधान र कानुनसँग बाझिन नहुने उनको भनाइ छ । उनले राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने हुने वा नहुने भन्ने कुराको बहस गर्न सकिने भए पनि एमालेमा प्रवेश गर्ने कुरासँग जोडेर मिसमास गरेर छलफल गर्न नमिल्ने तर्क गरे ।
थापाले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउने, प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने र निषेध गर्नेजस्ता गतिविधि भइरहेको उल्लेख गरे ।
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने केन्द्रीय समितिको निर्णयमा आफूले ‘नोट अफ डिसेन्ट’ दर्ज गरेको पनि उनले जानकारी दिए ।