site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलवायु परिवर्तन र विपद् व्यवस्थापनको मुद्दालाई साझा रूपमा हेर्नुपर्छ : ठाकुर गैरे

काठमाडौं । संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले जलवायु परिवर्तनको मुद्दालाई विश्वव्यापी साझा मुद्दा बनाउँदै क्षेत्रीय रूपमा सामूहिक लड्नुपर्ने बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र ब्रिटिस काउन्सिलको विपद्मैत्री तथा जलवायु उत्तरदायी शासनका लागि युवाको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा यस्तो बताएका हुन् । 

सभापति गैरेले पृथ्वीको तापक्रम निरन्तर बढिरहेकोले हिमालय क्षेत्रमा हिउँ पग्लिने र महासागरमा जलसतह बढेर विपत्ति आउनेसम्म असर देखिन थालेको बताए । यस्तो अवस्थामा जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा समस्याको रूपमा हेर्दै युवा तथा किशोरहरूलाई समेत यसबारे जागरूक बनाउनुपर्ने बताए । 

“पृथ्वीको तापक्रम निरन्तर बढ्दै जाँदा मानव अस्तित्व नै संकटमा पर्न लागेको छ । विकसित देशले कार्बन उत्सर्जन गर्दा नेपाल जस्ता मुलुकले त्यसको असर भोग्नु परिरहेको छ,” गैरेले भने, “कार्बन उत्सर्जनका असरविरुद्ध नेपाली युवालाई जानकारीसहित जलवायु न्याय प्राप्तिको अभियानमा सरिक गराउन आवश्यक छ ।” 

उनले जलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरूको सहभागितामा एसियाको क्षेत्रीयस्तरको कमिटी बनाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 

सांसद गरिमा शाहले मधेसमा जलवायु परिवर्तनको असर देखिँदा मध्य वर्षातमा खडेरीको सामना गर्नुपरेको बताइन् । “धान लगाउने वर्षात मौसममै हाल तराई क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बाध्यताले नेपालमा खाद्य संकट निम्तिने खतरा नजिक देखिएको छ,” शाहले भनिन्, “पानी अभावमा तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था, पानी जमिनमुनि जान नदिने विकासे कार्यक्रम र त्यसमा भइरहेको दुरुपयोगले काम गरेको छ ।” उनले नेपालले विकाससम्बन्धी नीति र अवधारणा परिवर्तन गर्दै योजनामा निर्माणमा केन्द्रित हुनुपर्ने बताइन् । 

कार्यक्रममका सहभागीहरूले युवालाई हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै उद्यममा लगाएर जलवायु परिवर्तनको सचेतनालाई सामाजिक अभियानमा जोड्नुपर्ने बताएका थिए । 

बाल अधिकारका लागि संसदीय मञ्चकी प्रमुख सीता रानाले जलवायु परिवर्तनको असरले निम्त्याएको विपद्ले सबै उमेर समूहका नागरिकलाई समान असर पर्ने भन्दै स्थानीय तहदेखि सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताइन् । 

ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले जलवायु परिवर्तन जस्तो विश्वलाई नै प्रभावित पार्ने सवालमा युवाहरूको जागरूक अभियानमा जोडिन पाउँदा खुसी लागेको बताए । 

मौसमविद् डा. इन्दिरा कँडेलले दिनप्रतिदिन बढिरहेको तापक्रमले पृथ्वी तात्तिँदा हिमाल पग्ललेक्रम बढेको र बाढी, पहिरोजन्य विपत्ति बढिरहेको बताइन् ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्