site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यापुत्री भन्छिन्– पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने अवस्थामा पुर्‍याउने रहेछन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणले नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयबाट आफू अचम्मित नभएको प्रतिक्रिया दिएकी छन् ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत उषाले एमालेको निर्णय र त्यसमा पुग्न गरिएका ‘तिगडम’प्रति आफू अचम्मित नभएको बताएकी हुन् ।

“तपाईंहरूमध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ ।  तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन । म खुसी छु कि यो खुलारूपमा बाहिर आयो,” उनले फेसबुकमा लेखेकी छन् ।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई 'प्रकरण'को संज्ञा दिएकी छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भ जोड्दै उनले लेखेकी छन्, “मलाई उहिले लाग्थ्यो, किन उहाँ (पुष्पलाल)को परिवार नेकपा (एमाले)प्रति नैतिक समर्थन दिन पनि देखिने गरी प्रस्तुत हुँदैन ? हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि पार्टीको समर्थनमा देखिने गरी उभिनू, नैतिक समर्थन गर्नू, टाढा नजानू भनेर भन्नुहुन्थ्यो ।”

तर, पछिल्लो घटनाक्रमबाट आफूले नयाँ अनुभूति गरेको उनको भनाइ छ । “विगतको एक महिनादेखि मलाई ज्ञान भयो– नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन् । र, तिनीहरूलाई नैतिक समर्थन चाहिँदैन पनि रहेछ । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !”

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्