site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले केन्द्रीय बैंकका अध्यक्षलाई भने– मूर्ख मानिस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई आठ महिनाभित्र हटाइने भएका छन् । मंगलबार मिडियासँगको कुराकानीका क्रममा ट्रम्पले पावेललाई 'मूर्ख व्यक्ति' भनेका छन्  । पावलले ब्याजदरलाई धेरै उच्च बनाएको ट्रम्पको आरोप छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँग ह्वाइट हाउसमा भएको बैठकमा उनले पावेलको केन्द्रीय बैंकको अध्यक्षको कार्यकाल १५ मेसम्म भएको बताए । यद्यपि, पावेलले बारम्बार समयअघि पद नछोड्ने बताएका छन् ।

ट्रम्पले धेरै महिनादेखि पावेलमाथि ब्याजदर नघटाएको आरोप लगाउँदै आएका छन् । उनले बारम्बार पदबाट हटाउने बताउने गरेका छन् ।

विज्ञहरूका अनुसार, ट्रम्पले पावेललाई हटाउने कदम चाले कानुनीरूपमा निष्कासनको कारण देखाउनुपर्नेछ ।

यसअघि, ट्रम्पले वालस्ट्रिट जर्नल (डब्यूएसजे)को एक रिपोर्टलाई पावेलको बर्खास्तीसँग सम्बन्धित दाबीलाई झुठो र भ्रामक भनेर खारेज गरेका थिए ।

रिपोर्टमा ट्रम्पलाई उनकै ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले पावेललाई हटाउँदा सेयर बजारमा नकारात्मक असर पर्ने भनेर सम्झाएका भनिएको थियो ।

तर, ट्रम्पले यस खबरलाई पूर्णरूपमा खारेज गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनले लेखेका छन्, “डब्यूएसजले ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले मलाई पावेललाई हटाउँदा सेयर बजार तल झर्छ भन्दै सम्झाए अर्को झुठो कहानी छाप्यो । कसैले मलाई सम्झाउनुपर्दैन, मलाई आफैँ थाहा छ, बजार र अमेरिकाका लागि के ठिक छ । यदि म नभएको भए, बजार आज रेकर्ड उचाइमा हुने थिएन, बरु धेरै अघि नै क्र्यास भइसकेको हुन्थ्यो !”

रिपोर्टहरूका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्प पावेलको ब्याजदरसम्बन्धी निर्णयसँग सन्तुष्ट छैनन् । ट्रम्प उनलाई हटाउन चाहन्छन् ।

यद्यपि, कानुनका विज्ञहरू राष्ट्रपतिसँग फेडरल रिजर्भका अध्यक्षलाई सिधै हटाउने अधिकार नभएको बताउँछन् । यस मुद्दालाई लिएर वालस्ट्रिटमा पनि चिन्ता देखिएको छ । यस विवादमा फेडरल रिजर्भसँग प्रतिक्रिया मागिएको थियो । तर, उनीहरूले आफूहरूसँग बताउनलाई केही नभएको प्रतिक्रिया दिएको उनीहरूको भनाइ छ ।

विजेस्तीबाट ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्