
मुम्बई । नसिरुद्दीन शाह भारतीय चलचित्र उद्योगमा एक अनुभवी अभिनेताको रूपमा परिचित छन् । अभिनयका साथै उनी समाज, राजनीति र सिनेमामा आफ्ना टिप्पणी राख्दै आएका छन् । उनी अभिनयमा जति अब्बल छन्, त्यति नै प्रष्ट वक्ता पनि हुन् । आफ्नो धारणा प्रष्टसँग राख्ने व्यक्तिको छवि छ उनको ।
चलचित्र नगरीमा प्राय कलाकार होसियारीपूर्वक बोल्छन् वा चुप लाग्छन् । तर, आफ्नो मनको कुरा स्पष्ट रूपमा बोल्ने नसिरुद्दीन शाह जुलाई २० मा ७५ वर्ष पुगे ।
७५ वर्ष लाग्दा उनले सिनेमा जगतलाई ५० वर्ष दिएका छन् । १९७५ मा, जब नसीरुद्दीन शाहको पहिलो सिनेमा ‘निशान्त’ रिलिज भयो, उनी खुसी हुनुको सट्टा दुःखी थिए ।
त्यसपछि दूरदर्शनले उनलाई अंग्रेजी र हिन्दी समाचार वाचकको रूपमा अस्वीकार गर्यो । ती दिनहरूमा, उनकी सहअभिनेत्री स्मिता पाटिलले दूरदर्शनमा मराठी समाचार पढेर प्रसिद्धि कमाइरहेकी थिइन् ।
बाराबंकीमा जन्मेका नसिरुद्दीन कहिल्यै पनि आफ्नो बुवासँग मिलेनन् । उनका बुवा पनि नसिरले राम्रो, परम्परागत करिअर बनाएको चाहन्थे ।
“मेरो बुवा अंग्रेज जस्तै बस्नुहुन्थ्यो । सहरमा पनि उहाँ टोपीबिना बाहिर निस्कनुहुन्थ्यो । उहाँ हामीलाई पैसाले किन्न सकिने उत्तम शिक्षा दिन चाहनुहुन्थ्यो,” आफ्नो आत्मकथा ‘एन्ड देन वान डे’मा नसिरुद्दीनले लेखेका छन्, “उहाँ पश्तो र फारसीसँगै राम्रो अंग्रेजी बोल्नुहुन्थ्यो, तर उहाँले हामीलाई पश्तो वा फारसी सिकाउने आवश्यकता कहिल्यै महसुस गर्नुभएन ।”
आमाप्रतिको स्नेह
नसीरले आफ्नो बुबालाई भन्दा आफ्नी आमालाई बढी सम्मान गर्थे । उनको रिसबारे धेरैलाई थाहा छ । उनका बुवाले पनि यो सहन सकेनन् । नसीरले आमाको बारेमा लेखे, “जब मेरो बुवासँगको मेरो सम्पर्क पूर्णरूपमा समाप्त भयो, तब मेरी आमाले मलाई साथ दिनुभयो ।”
आफूलाई पद्म पुरस्कारले सम्मानित गर्दा आमालाई राष्ट्रपति भवनमा लिएर गएको उनले स्मरण गरेका छन् । “मेरो वार्डरोबमा अझै पनि उनको एउटा दुपट्टा छ, जसमा अझै पनि उनको सुगन्ध छ,” आमासँगको आफ्नो सम्बन्धको वर्णन गर्दै उनले लेखेका छन्, “मेरो जीवनको सबैभन्दा आरामदायी क्षण त्यो थियो जब उनी आफ्नो दुपट्टाको एक कुनालाई आफ्नो सासले न्यानो पारेर मेरो आँखामा राख्थिन् ।”
परविन मोरादसँग विवाह
अलिगढ विश्वविद्यालयमा अध्ययन गर्दा उनको भेट परवीन मोरादसँग भयो । उनी एक पाकिस्तानी नागरिक थिइन् जो चिकित्साशास्त्र पढिरहेकी थिइन् ।
त्यतिबेला उनी १९ वर्षका थिए । यसका बाबजुद पनि उनले आफूभन्दा १५ वर्ष जेठी परवीनलाई विवाहको प्रस्ताव मात्र राखेनन्, विवाह पनि गरे ।
“उनी धेरै राम्री थिइनन् तर उनको पहिरन शैलीले मलाई आकर्षित गथ्र्यो । उनी धेरै हाँस्थिन् । अलिगढका मानिसहरूलाई अरूको मामिलामा हस्तक्षेप गर्न मन पथ्र्यो,” नसीर लेख्छन्, “हामी एकअर्काको हात समातेर बाहिर निस्कँदा मानिसहरू फुसफुसाउन थाल्थे । हामीले १ नोभेम्बर १९६९ मा चुपचाप विवाह गर्यौं । धेरै दिनपछि जब मेरो बुवालाई यो कुरा थाहा भयो, उहाँले एउटा पत्र लेख्नुभयो र मलाई ‘मुर्ख’ भन्नुभयो ।”
परवीनकी जेठी सौतेनी बहिनी सुरेखाले नेशनल स्कुल अफ ड्रामामा अध्ययन गरेकी थिइन् । पछि उनले ‘बालिका बधू’ जस्ता धेरै चलचित्र र धारावाहिकहरूमा काम गरेर धेरै ख्याति कमाइन् ।
अल्काजी बने नसीरको गुरु
यसैबीच, नसिरुद्दीनले दिल्लीको नेशनल स्कुल अफ ड्रामामा भर्ना भए । त्यहाँ उनी स्कुलका निर्देशक अल्काजीको सम्पर्कमा आए । नसिरुद्दीनले अभिनय पढेको कुरा अल्काजीलाई मन परेन । उनी निर्देशन पढाउन चाहन्थे ।
अल्काजीको व्यक्तित्वका धेरै पक्षहरूले नसिरुद्दीनमा ठूलो प्रभाव पारेको थियो । नसिरुद्दीनले लेखेका छन्, “उनी स–साना कुराहरूमा पनि ध्यान दिन्थे । निर्देशक भए पनि उनको ध्यान सधैँ शौचालयको सरसफाइमा हुन्थ्यो । उनी प्रायः आफैँ शौचालय सफा गरिरहेको देखिन्थ्यो ।”
यसैबीच, नसिरुद्दीनको हिबा नामकी छोरी जन्मिइन् । नसिरुद्दीनले आफ्नो आत्मकथामा स्वीकार गर्छन् कि उनी आफ्नी छोरीप्रति इष्र्यालु हुन थाले । आफ्नी श्रीमती परवीनको जीवनमा आफू अब सबैभन्दा महत्वपूर्ण व्यक्ति नभएकोमा उनलाई दुःख लाग्न थाल्यो । परवीनप्रति उनको मोह कम हुन थाल्यो । कारण परवीनले नसिरुद्दीनलाई भन्दा छोरीलाई बढी माया गर्थिन् ।
दिल्लीबाट अलिगढसम्मको उनको साप्ताहिक यात्रा मासिक यात्रामा परिणत भयो । त्यसपछि बिस्तारै बन्द भयो । परवीनले पहिले इंल्यान्ड र त्यसपछि इरानमा बसोबास गर्ने निर्णय गरिन् ।
गिरीश कर्नाडको सिफारिसमा पहिलो फिल्म
नेशनल स्कुल अफ ड्रामापछि, नसीरले पुणेको फिल्म इन्स्टिच्युटमा आफ्नो अभिनय अध्ययन जारी राख्ने निर्णय गरे ।
उनका भाइहरू जहीर र जमीरले उनको शिक्षाको लागि पैसा पठाइरहे । विवाहित भए पनि दुवैले मासिक ६०० रुपैयाँ मात्र कमाउँथे । त्यसैले उनलाई भाइले नियमित रूपमा नसीरलाई १०० रुपैयाँ पठाउँथे ।
उनका जेठा भाइ जमीरुद्दीन शाह सेनामा धेरै उच्च पदमा पुगेका थिए । उप–सेनाध्यक्षको पदबाट अवकाश लिए ।
श्याम बेनेगलले एक अन्तर्वार्तामा भनेका थिए, “मैले एकपटक मेरो साथी, पुणे फिल्म इन्स्टिच्युटका निर्देशक, गिरीश कर्नाडलाई सोधेको थिएँ– के तपाईंलाई यस वर्ष स्नातक हुने कुनै राम्रो अभिनेता थाहा छ ? कर्नाडले भने, नसीरुद्दीन शाह नामको एक केटा छ । उसले मलाई सधैँ सताउँछ तर ऊ एक महान अभिनेता हो । यसरी मैले निशान्तको लागि नसीरलाई साइन गरेँ ।”
नसिरुद्दीनले आफ्नो आत्मकथामा यो चलचित्रका लागि दश हजार रुपैयाँ पारिश्रमिक पाएको बताएका छन् ।
नसीरका आमाबाबुले उनको पहिलो फिल्म हेरे
“जब फिल्म ६ महिनापछि रिलिज भयो, मेरो बुबाले मसुरीको मलनजिकै घुम्दै गर्दा फिल्मको पोस्टरमा मेरो नाम देख्नुभयो । उहाँ मेरो फिल्म हेर्न सिधै रियाल्टो टकिज जानुभयो,” नसिरुद्दीन शाह लेख्छन्, “घर फर्केपछि, उहाँ धेरै खुसी हुनुभयो र मेरी आमालाई मेरो अभिनयको बारेमा बताउनुभयो ।”
आफूलाई नलिइ एक्लै फिल्म हेर्न गएको भनेर उनी रिसाइन् । उनले आफूले पनि सिनेमा हेर्ने बताइन् ।
“आमा कारण मेरो बाबाले जीवनमा पहिलोपटक दोस्रोपटक सिनेमा हेर्नुभयो । उहाँले मलाई एउटा लामो पत्र लेख्नुभयो र स्क्रिनमा मेरो नाम देखेर उहाँ धेरै खुसी भएको बताउनुभयो,” उनले लेखेका छन् ।
मन्थन र मासूममा उत्कृष्ट अभिनय
नसिरुद्दीनका सिनेमाहरूले एकपछि अर्को प्रशंसा पाउन थाले । उनको पहिलो चलचित्र ‘मन्थन’ आयो । यो चलचित्रका लागि गुजरात सहकारी दूध महासंघका पाँच लाख सदस्यहरूले प्रतिव्यक्ति दुई रुपैयाँ योगदान गरे र चलचित्रका लागि १० लाख रुपैयाँ संकलन गरे ।
यो सिनेमा बम्बईका थिएटरमा १० हप्तासम्म हाउसफुल चल्यो । त्यसपछि नसिरुद्दीनले ‘भूमिका’, ‘कथा’, ‘स्पर्श’, ‘अल्बर्ट पिन्टो को गुस्सा क्यूँ आता है’, ‘मंडी’, ‘जुनून’, ‘उमराव जान’, ‘पार’, ‘खंधार’ र ‘आक्रोश’जस्ता धेरै चलचित्रहरूमा आफ्नो अभिनय क्षमता प्रमाणित गरे ।
१९८३ को फिल्म ‘मासुम’मा नसिरुद्दीनको अभिनयको पनि धेरै प्रशंसा भयो ।
चलचित्रका निर्देशक शेखर कपूरले एक अन्तर्वार्तामा भनेका थिए, “फिल्म निर्माताको रूपमा मेरो जीवनको सबैभन्दा ठूलो पछुतो मैले मासूमपछि नसिरुद्दीनसँग कहिल्यै काम नगर्नु हो । यो फिल्ममा उनको अभिनय यति ताजा छ कि यस्तो लाग्छ, यो फिल्म हिजो बनेको हो । उनी भारतका महान अभिनेताहरू मध्ये एक भएकोमा कुनै शंका छैन ।”
स्पेन्सर ट्रेसीबाट प्रभावित
आफ्नो करिअरको सुरुवातमा नसिरुद्दीन शाहले आफूमा फिल्म स्टारको जस्तो लुक्स र सुन्दरता नभएको स्वीकार गरेका थिए । एक सामान्य हिन्दी फिल्म अभिनेता जस्तै उनको नृत्य क्षमता पनि सीमित थियो ।
उनको किशोरावस्थाको सुरुआती वर्षहरू शम्मी कपूरको नक्कल गर्दै बित्यो । तर, उनी ‘दिल दे के देखो’मा उनी जस्तो कहिल्यै नाच्न सक्दिन भन्नेमा जानकार थिए ।
जब उनले हेमिंग्वेको उपन्यासमा आधारित अंग्रेजी फिल्म ‘ओल्ड म्यान एन्ड द सी’ हेरे, उनले सोचे कि यदि स्पेन्सर ट्रेसी जस्तो साधारण देखिने अभिनेताले स्क्रिनमा अद्भूत उपस्थिति देखाउन सक्छन् भने उनले किन त्यसो गर्न सक्दैनन् ।
स्पेन्सर ट्रेसीको बारेमा उनले एक अन्तर्वार्तामा भनेका थिए, “उनी फिल्ममा यति वास्तविक देखिन्थे कि उनीबाट समुद्रको गन्ध पनि महसुस गर्न सकिन्थ्यो । उनको घामले पोलेको अनुहार, च्यातिएका पुराना लुगा र नांगो खुट्टाले यस्तो देखिन्थ्यो कि उनले आफ्नो सम्पूर्ण जीवन डुंगामै बिताएका थिए ।”
आफ्नो स्पष्ट भनाइका लागि परिचित
नसिरुद्दीन शाह आफ्नो मनको कुरा खुलेर भन्न कहिल्यै पछि परेनन् । हालै, पहलगाम घटनापछि अभिनेता दिलजीत दोसांझले पाकिस्तानी अभिनेत्रीसँग काम गरेको बारेमा प्रश्न उठ्दा उनले दिलजीत दोसांझको बचाउ गर्दै आफ्नो फेसबुक अकाउन्टमा आफ्नो धारणा राखेका थिए । “म दिलजीत दोसांझको पक्षमा छु । यस फिल्मको कास्टिङको लागि दिलजीत जिम्मेवार छैनन्,” उनले लेखेका थिए, “फिल्मका निर्देशक जिम्मेवार छन् । फिल्मका निर्देशक को हुन् भनेर कसैलाई थाहा छैन । तर दिलजीतबारे सबैलाई थाहा छ ।”
पछि उनले आफ्नो पोस्ट डिलिट गरेको दाबी गरिएको थियो । तर, नसिरुद्दीन शाहले आफ्नो पोस्ट फेसबुकले हटाएको दाबी गरे । र, उनी आफ्नो भनाइमा अडिग रहे ।
यो पोस्ट हटाएपछि, उनले एउटा रहस्यमय पोस्ट सेयर गरे । वैज्ञानिक तथा दार्शनिक जर्ज क्रिस्टोफ लिचटेनबर्गका शब्दहरू सेयर गर्दै उनले लेखे, “कसैको दाह्री नजलाइकन भीडमा सत्यको मशाल बोक्नु लगभग असम्भव छ ।”
सीएए–एनआरसी विवादको समयमा उनले आफ्ना सह–अभिनेता अनुपम खेरलाई ‘जोकर’ भने । यसले ठूलो विवाद मच्चायो । आफ्नो शब्द फिर्ता लिनुको सट्टा उनले अनुपम खेरलाई गम्भीरतापूर्वक लिनु हुँदैन भनेर दोहोर्याए ।
नसिरुद्दीनले खुलेआम तथाकथित ‘लभ जिहाद’लाई समाजमा विभाजनको विषयको रूपमा वर्णन गरेका छन् ।
२०१६ मा दिइएको एक अन्तर्वार्तामा नसिरुद्दीनले राजेश खन्नालाई खराब अभिनेता भने । उनले भारतीय सिनेमाको स्तर घटाउनुमा उनी जिम्मेवार रहेको आरोप लगाए ।
राजेश खन्नाका प्रशंसक र सहकर्मीहरूले यो टिप्पणीलाई धेरै नराम्रो रूपमा लिए । उनको टिप्पणीमा धेरै प्रश्नहरू उठे । राजेश खन्नाकी छोरी ट्विंकल खन्नाको आलोचना पछि उनले यो टिप्पणीको लागि माफी मागे ।
२०१० मा एक अन्तर्वार्तामा उनले अमिताभ बच्चनलाई प्रश्न गर्दै भने, अमिताभले कुनै पनि राम्रो फिल्म बनाएका छैनन् । उनले ‘शोले’लाई मनोरञ्जनात्मक सिनेमा मात्रै मान्थे ।
व्यावसायिक चलचित्रहरूमा पनि काम गरेँ
नसिरुद्दीन शाहले कलात्मक चलचित्रहरूमा मात्र काम गरेका होइनन् । उनले व्यावसायिक चलचित्रहरूमा काम गरेका छन् । ती मध्ये एक यादगार चलचित्र १९८९ को चलचित्र ‘त्रिदेव’ थियो । जब उनले रातो प्वाँख भएको फ्लपी टोपी लगाएर ‘ओये ओये’ गीत गाए, धेरै चलचित्र समीक्षकहरू छक्क परे ।
२०११ को फिल्म ‘डर्टी पिक्चर’ उनले विद्या बालनसँग ‘ऊ ला ला’मा नृत्य गरेर धेरै मानिसहरूलाई चकित पारे ।
यसबाहेक उनले ‘चमत्कार’, ‘मोहरा’, ‘चाइना गेट’, ‘जिन्दगी न मिलेगी दोबारा’ जस्ता व्यावसायिक चलचित्रमा पनि काम गरेका छन् ।
तर, व्यावसायिक चलचित्रहरूमा अभिनयलाई यथार्थपरक स्पर्श दिने उनको प्रयासलाई न त उचित ठानियो न त प्रशंसा नै गरियो । एक निर्देशकले उनलाई स्पष्ट रूपमा भने, “नासिरजी यो कला चलचित्र होइन । तपाईंले यहाँ अभिनय गर्नुपर्छ ।”
केही फिल्म समीक्षकहरूले नसिरुद्दीन शाहको हलिउड फिल्म ‘द लिग अफ एक्स्ट्राअर्डिनरी जेन्टलमेन’ले निराश बनाएको बताएका थिए ।
पछि, उनले आफैंले एक अन्तर्वार्तामा भने, “यो मेरो अभिनय करिअरको सबैभन्दा खराब र बोरिङ अनुभव थियो । तर, मैले यसको लागि यति धेरै पैसा पाएँ कि मैले गुनासो गरिनँ ।”
उनले यो सिनेमाबाट आफू पनि सन्तुष्ट नभएको बताएका छन् । उनले यो चलचित्र राम्रो नरहेकोमा शंका नरहेको बताएका छन् । “तर म यसमा मेरो अभिनयलाई नराम्रो भन्दिन । मैले ‘जिन्दा जला दुंगा’ र ‘मुझे मेरी बीवी से बचाओ’जस्ता यो भन्दा पनि खराब फिल्महरू गरेको छु,” उनले भनेका छन् ।
फिल्म अवार्डको महत्व छैन
नसिरुद्दीनको दोस्रो विवाह १९८३ मा अभिनेत्री रत्ना पाठकसँग भयो । नसिरुद्दीनलाई पद्मश्री र पद्मभूषणबाट सम्मानित गरिएको छ । यसबाहेक उनले ‘पार’, ‘स्पर्श’ र ‘इकबाल’मा उत्कृष्ट अभिनयको लागि तीनवटा राष्ट्रिय पुरस्कार प्राप्त गरे । उनले ‘आक्रोश’, ‘चक्र’ र ‘मासुम’ सिनेमाहरूमा अभिनयको लागि तीनवटा फिल्मफेयर पुरस्कार पनि प्राप्त गरे ।
आफ्नो स्पष्टवक्ताको लागि प्रसिद्ध नसिरुद्दीन शाहले एक अन्तर्वार्तामा यी पुरस्कारहरूलाई गम्भीरतापूर्वक नलिने गरेको स्वीकार गरेका छन् । अवार्डलाई लिएर गर्व नलाग्ने गरेको बताएका छन् ।
जब उनले आफ्नो फार्म हाउस बनाए, उनले फिल्मफेयर पुरस्कारलाई आफ्नो शौचालयको ढोकाको ह्यान्डलको रूपमा प्रयोग गरे । उनले धेरैजसो पुरस्कार सिफारिस वा पैरवीमार्फत प्राप्त हुने भएकाले आफूले तिनीहरूलाई धेरै महत्व नदिने गरेको बताए ।
“अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । मैले फिल्मफेयर अवार्डमा पाएको ट्रफी वासरूमको ह्यान्डलको रूपमा प्रयोग गर्छु । जब कोही मेरो घरको नुहाउने कोठामा पस्छ, उसले ढोकामा ह्यान्डलको रूपमा दुईवटा फिल्मफेयर ट्रफी झुण्डिएको भेट्टाउनेछ,’” उनले भनेका थिए, “अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । यसअघि यी अवार्ड जितेपछि खुसी लाग्थ्यो । विस्तारै यस्ता धेरै अवार्ड भए ।”
उनले समयक्रमसँगै अवार्डहरू लबिङको परिणाम भएको बुझ्न थालेको बताएका थिए । अवार्डको हकदार नै नभएका व्यक्तिले पनि पाउन थालेको उनले बताएका थिए । त्यसपछि आफूले अवार्डहरूसँग सम्बन्ध तोड्न थालेको उनले अन्तर्वार्तामा बताएका थिए ।
“मैले यी अवार्डहरूको अवधारणा बुझिनँ । सबै कलाकारहरूले कडा परिश्रम गर्छन्, तर वर्षको उत्कृष्ट अभिनेताको ट्रफी एक अभिनेताले मात्र पाउँछन् । यो सही होइन,” नसिरुद्दीनले भनेका थिए, “म पछिल्ला दुई अवार्ड लिन गएको पनि छैन । त्यसैले मैले एउटा फार्महाउस बनाए र यी अवार्डहरू त्यहाँको शौचालयमा राख्ने निर्णय गरेँ ।” बीबीसी हिन्दीबाट ।