site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा ग्यास चुहिएर दुई घरमा आगलागी : चारजना घाइते
प्रतीकात्मक तस्बिर ।

झापा । हल्दिबारी गाउँपालिका–४ को एक घरमा मंगलबार आगलागी नियन्त्रण गर्ने क्रममा चारजना घाइते भएका छन् । स्थानीय पुण्यप्रसाद ओलीको दुईतले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उनको ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका हुन् । घाइते चारैजनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ । 

घाइते चारैजनालाई भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो । घाइतेको अवस्था गम्भीर रहेको कारण भद्रपुरबाट घाइतेलाई विराटनगर रेफर गरिएको बताइएको छ । 

बिहान ८ः४५ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो । आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । हल्दिबारीको कञ्चनश्रीस्थित अस्थायी प्रहरी पोस्टबाट आगलागी नियन्त्रणमा प्रहरी टोली परिचालन भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

यसैगरी, कचनकबल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजवंशीको भान्सा घरमा सोमबार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ ।

प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता छाना र चुलो डढेर क्षति भएको छ ।

आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्