
पोखरा । चौकीदार नियुक्तिको विषयले कास्की कारागारमा उत्पन्न तनाव मत्थर बनेको छ । आइतबार कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गरेको थियो । कारागारको ‘क’ ब्लकका कैदीबन्दीले भने त्यसलाई स्वीकार्न तयार भएनन् ।
कास्की कारागारले सिफारिस गरेकामध्येका प्रकाश गुरुङलाई चौकीदार बनाउनुपर्ने माग गर्दै अजयको नेतृत्व स्वीकार्न नसकिने माग कैदीबन्दीहरूले गरे । अजय र प्रकाश दुवै कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बन्दी हुन् ।
आइतबार माहोल यतिसम्म अशान्त बन्यो कि, कैदीबन्दीहरूले भित्रै टायर बाल्ने, नाराबाजी गर्ने गरेपछि ठूलो संख्यामा प्रहरी तैनाथ नै गर्नुपर्यो । त्यसको साँझ झडप नै भयो । झडप भएपछि अजय र प्रकाशलाई कारागारबाट कास्की प्रहरीको हिरासतमा लगिएको थियो । सोमबार कैदीबन्दीहरू धर्नामा उत्रिए ।
‘क’ ब्लकमा रहेका ३६६ कैदीमध्ये केही बाहेक सबैले प्रकाशलाई नै चौकीदार बनाउनुपर्ने भन्दै गृहमन्त्रीलाई पत्र नै लेखे । उनीहरूले पत्रमार्फत आफ्ना मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरे ।
पत्रमा उल्लेख छ, “कारागारमा रहेका कैदीहरूबीच कुनै पनि प्रकारको विवाद नरहोस् भन्ने उद्देश्यले कारागार प्रशासनले सुरक्षाका उपायहरू कडाइका साथ लागु गरेको छ, तर कैदीबन्दीहरूलाई दैनिक जीवनयापनमा अत्यावश्यक आर्थिक स्रोत व्यवस्थापन गर्ने अवसर नै नदिइएकाले गम्भीर समस्या उत्पन्न भएको छ ।”
प्रकाश गुरुङ पक्षधर कैदीहरूले नवनियुक्त चौकीदार अजयले कैदीबन्दीको हकहित तथा सुरक्षा गर्न नसक्ने, पक्षपात र निरंकुश कार्यशैली रहेको, कैदीबन्दीको आर्थिक शोषण हुने, सुशासन कायम नरहने दाबी गरेका छन् ।
आर्थिक चलखेल गरेर चौकीदार नियुक्त गरिएकाले त्यसको पनि छानबिन गर्न उनीहरूले माग गरेका छन् । माग पूरा नभएसम्म नयाँ चौकीदारलाई बहिष्कार गर्ने, आमरण अनशन बस्ने कैदीबन्दीले पत्रमा उल्लेख गरेका छन् ।
कैदीबन्दीले प्रकाशलाई नै चौकीदार बनाउने माग राखेता पनि कारागारले चाहिँ विभागले गरेको निर्णय परिवर्तन नहुने जनाएको छ । त्यसको विकल्पमा प्रकाशको स्थानान्तरणको विकल्पमा कारागार पुगेको छ । मंगलबार स्थिति शान्त बनेपछि अजयलाई कारागारमा नै फर्काइएको छ ।
कास्की कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले अजयलाई फिर्ता ल्याइएको र प्रकाश चाहिँ प्रहरी हिरासतमा नै रहेको जानकारी दिए ।
कुँवरका अनुसार, प्रकाशलाई भने कास्की कारागारबाट अन्यत्रको कारागारमा स्थानान्तरण गर्ने तयारी छ । उनले हालसम्म प्रकाश हिरासतमा नै रहेको बताए । तर, विशेष स्रोतका अनुसार, प्रकाशलाई तनहुँ कारागार स्थानान्तरण गरिसकिएको छ ।
३६६ कैदीबन्दीमध्ये ३६२ जनाले प्रकाश नै चाहिन्छ भनेर पत्र लेखेता पनि विभागको निर्णयलाई कार्यान्वयन गर्न कैदीबन्दीका नाइके प्रकाशलाई जिल्ला नै फेरेर कारागार स्थानान्तरण गरिएको हो ।
देशभरिका कारागार प्रशासन सञ्चालन गर्न कारागार व्यवस्थापन विभागले कैदीबन्दीबाटै प्रत्येक आर्थिक वर्षको सुरुआतमा नयाँ चौकीदार नियुक्त गर्छ । चौकीदारले सरकारी सुविधासरह जिम्मेवारी पाउँछ । चौकीदार नियुक्त गर्न परीक्षाका जस्तै चरणहरू पार गर्नुपर्छ । त्यसअघि चौकीदार नियुक्त गर्न एउटा समिति बन्छ । त्यो समितिले अन्तर्वार्तालगायत परीक्षाबाट उत्तीर्ण गरेको व्यक्तिलाई नै कारागार व्यवस्थापन विभागले चौकीदार नियुक्त गर्छ । चौकीदारले तोकिएको तलबभत्ता नेपाल सरकारबाट पाउने कानुनी व्यवस्था छ ।