
काठमाडौं । नेकपा (एमाले)भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काउन नहुने मत बढेको छ । सोमबार र मंगलबार केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताले भण्डारीलाई राजनीतिमा फर्काउन नहुने धारणा राखेका हुन् ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवका रूपमा रहिसकेको व्यक्ति कुनै पार्टीमा प्रवेश गर्ने विषय एउटा राजनीतिक दलको मात्र सरोकार नभएको बताए ।
यो विषयलाई आउँदो दिनमा पर्ने प्रभाव समेत मध्यनजर गरेर संविधानको भावना र मर्मानुसार नजिर स्थापित हुने गरी निर्णय लिनुपर्ने उनले उल्लेख गरे । केन्द्रीय कमिटी बैठकबाट यसबारे निर्णय लिइने उनले बताए ।
एमालेमा एक लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको पनि उनले जानकारी दिए ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ पढ्नोस्–
अहिलेसम्म केन्द्रीय कमिटीका ५८ जना सदस्यहरूले धारणा राख्नुभएको छ । अब ७७ जना बाँकी हुनुहुन्छ । बैठकमा पार्टी सदस्यताको विषय गम्भीरतापूर्वक उठेको छ । अधिकांश सदस्यहरूले पार्टी सदस्यता दुईवटा राख्नु उचित भएको बताउनुभएको छ । यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्ने राय आएको छ । नेकपा (एमाले)को एक लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको छ । सरकारको प्रभावकारिता, महँगी नियन्त्रण, डेलीभरी व्यवस्थित गर्ने, सुशासन कायम गर्न विशेष जोड दिन सुझाव आएका छन् । पूर्वराष्ट्रपतिज्यूको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरा अधिकांश सदस्यहरूले जिज्ञासा राखेका छन् । साझा व्यक्तित्व भइसकेको, गणतन्त्रको गौरवको रूपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने कुरा प्राविधिक र एउटा पार्टीविशेषको विषय होइन । यो नयाँ विषय हो । यसले भोलि जनतामा, प्रणाली, व्यवस्थामा के प्रभाव पर्दछ, संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्ने कुरामा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यहरूको जोड छ । यो निकै महत्त्वको विषय भएकाले केन्द्रीय कमिटीको बैठकले निर्णय लिनेछ । न्युज एजेन्सी नेपाल