site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी नियन्त्रणका तीन उपाय
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वर्षायाम सुरु भएसँगै डेंगी संक्रमण बढ्न थालेको छ । एडिस जातको लामखुट्टे (कालो–सेतो छिर्केमिर्के देखिने)को टोकाइबाट डेंगी संक्रमण हुन्छ ।

डेंगी मानिसबाट मानिसमा सर्दैन । तर, एकै ठाउँमा बस्ने परिवार वा व्यक्तिहरूमा संक्रमण हुनसक्छ । यसको कारण संक्रमित एउटै लामखुट्टेले वरिपरिका धेरैजनालाई टोक्नु भएको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगी रोगबाट बच्ने एक मात्र उपाय भएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

डेंगी नियन्त्रणका तीन उपाय
डेंगी नियन्त्रणका निम्ति तीन उपाय अपनाउन सकिने उक्त केन्द्रले जनाएको छ । लामखुट्टेको वृद्धि विकास रोक्न यसले फुल पार्न सक्ने ठाउँ पत्ता लगाई नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन नहुने केन्द्रले जनाएको छ ।

यस्तै, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुपर्ने केन्द्रको सुझाव छ ।

डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसित सल्लाह गरी उपचार गराउनुपर्ने केन्द्रले जनाएको छ ।

डेंगी संक्रमणबाट जोगिन यस्तो छ केन्द्रको सुझाव–
१. आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिऔँ
२. घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हालौँ
३. जुनसुकै बेला सुत्दा झुलको प्रयोग गरौँ
४. पूरै शरीर ढाक्ने लुगा लगाऔँ र सचेत रहौँ ।

सरुवारोग विशेषज्ञ डा. पुनका अनुसार, डेंगी संक्रमण गराउने चार प्रकारका भाइरस हुन्छन्, जसलाई सोरोटाइप भनिन्छ– डीईएनवी १, डीईएनवी २, डीईएनवी ३ र डीईएनवी ४ ।

“यीमध्ये कुनै एक भाइरसका कारण संक्रमित भएको व्यक्ति दोस्रोपटक सोही भाइरसबाट संक्रमित हुँदैन,” पुनले बाह्रखरीसित भनेका छन्, “तर, सेरोटाइप फरक भएर डेंगी फैलिएमा व्यक्तिमा दोहोरिन सक्छ ।”

afdgm-1753158027.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्