काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष र दुई महामन्त्रीले अध्यक्ष राजेन्द्र लिङदेनले गरेको निर्णय सच्याउन चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्ती शाहीले उपाध्यक्ष मुकुन्दश्याम गिरीमाथिको कारबाही सच्याउन माग गरेका हुन् ।
उनीहरूले अध्यक्ष लिङदेनको कदम एकता महाधिवेशनको म्यान्डेट र विधानको भावनाविपरीत रहेको बताएका छन् । “एकता महाधिवेशनको म्यान्डेट आत्मसात गर्दै पार्टीको सर्वोपरि हित र एकताको पक्षमा सामूहिक सार्वजनिक अपिल गरेकै कारण गिरीलाई विधानविपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हठात् पदमुक्त गरिनु पार्टी जीवनमा दुःखद घटनाक्रम हो,” विज्ञप्तिमा भनिएको छ, “विधानको व्यवस्था र गरिमा अवमूल्यन गर्दै प्राकृतिक कानुनको सिद्धान्त अनुरुप स्पष्टीकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा तथा उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने र पार्टीको प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता अस्वीकार्य छ ।”
उनीहरूले अध्यक्ष लिङगदेनको कदमले पार्टी एकता, आन्तरिक प्रजातन्त्र र विधिको शासनमा अवरोध हुने उल्लेख गरेका छन् । लिङदेनको एकलौटी कदमले देशव्यापी रूपमा पार्टीका साथीहरू र शुभेच्छुकहरूलाई दुखित एवं चिन्तित तुल्याएको बताएका छन् ।
“जीवनको उर्जाशील समय पार्टी हितमा व्यतित गरेर गत एकता महाधिवेशन र महाधिवेशनयता महत्त्वपूर्ण भूमिका र जिम्मेवारी निर्वाह गर्नुहुने नेता मुकुन्दश्याम गिरीलाई विधानविपरीत पदमुक्त गर्ने गल्ती सच्याएर, देशभरीका पार्टीका साथीहरूको भावना समेत मध्यनजर गरेर उहाँलाई पूर्ववत् पदमा कायम राख्न पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।