site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोले इलाम र पाँचथरमा क्षति, मेची राजमार्ग अवरुद्ध

विराटनगर । अविरल वर्षासँगैको बाढीले हेवाखोलाको ‘डाइभर्सन’ बगाएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा बाढी आएर डाइभर्सन बगाएसँगै मेची राजमार्ग अवरुद्ध छ ।

कोसी प्रदेशमा शनिबार (साउन ३) रातिदेखि निरन्तर वर्षा भइरहेको छ । पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ र धनकुटाका विभिन्न खोलमा पानीको बहाव बढेको छ । 

बाढी घटेपछि हेवाखोलाको डाइभर्सन मर्मत गरी राजमार्ग खुलाउने तयारी थालिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन पालिकामा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

०८० असारको बाढीले हेवाखोलास्थित स्थायी पुल बगाएको थियो । त्यसपछि बनाइएको अस्थायी बेलीब्रिज पनि गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो । 

गएको जेठ ३१ गतेको बाढीबाट फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवाखोलामा बनाइएको बेलीब्रिज भाँचिएको थियो ।

बाढीले तमोर करिडोर पनि अवरुद्ध छ । धनकुटाको  साँघुरीगढी गाउँपालिका–९ मा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

घर पुरियो
इलामको इलाम नगरपालिका–५, मान्द्रनीका पूर्ण शंकरको घर पहिरोमा पुरिएको छ । टिनको छानो, ढुंगामाटो र काठबाट निर्मित एकतले घरका केही कोठामा क्षति पुगेको जनाइएको छ ।

शनिबार राति इलामकै देउमाई नगरपालिका ६, फुटुक दोकानगाउँमा बिजुलीको पोलमा रुख ढलेर तार क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध छ । इलामकै माईखोलाको पुलमा समेत बाढीबाट क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्