site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रमाण

“श्रीमान्, म सुनियोजित षड्यन्त्रको चपेटाबाट उछिट्टिएको एउटा जिउँदो साक्षी हुँ ! मलाई न्याय चाहियो, अपराधीलाई सजाय,” उसले कठघराबाट आफ्नो अंगभंग भएको शरीर देखाउँदै मुटु भक्कानो पार्दै भन्यो ।

“हामीलाई तपाईंप्रति सन्देह छ । तपाईंको घाउ खतप्रति हामीलाई विश्वास लाग्दैन । तपाईं भवितव्यमा परेर मरिसक्नुभएको छ,” श्रीमान्ले पोस्टमार्टमको रिपोर्ट र घटनाको मुचुल्का फाइल हेर्दै भने ।

“त्यो मुचुल्का प्रायोजित थियो श्रीमान् ! त्यहाँ हामीलाई षड्यन्त्रपूर्वक मार्ने उद्देश्यले बोलावट भएको रहेछ । मेरा धेरै सहकर्मीहरू मेरै आँखाअगाडि परमधाम भए,” उसले आँखाबाट आँसु बरर झार्दै घटनाको भयावह दृश्य सम्झिँदै भन्यो ।

“हामी प्रमाणलाई विश्वास गर्छौं, प्राणलाई होइन,” न्यायाधीशले आफ्नो अडान पेस गर्दै भने ।

“श्रीमान्, म जिउँदो नै छु ! मेरो मुटु अझै धड्किरहेको छ । यो देह मेरै हो । के हजुरलाई अझै शंका छ म जिउँदै छु भन्ने कुरामा ?,” उसले अनुनयसाथ न्यायको भिख माग्दै भन्यो ।

“त्यसो हो भने तपाईं जिउँदो भएको सरकारबाट सिफारिस बनाएर ल्याउनुस् र हामीलाई प्रमाण पेस गर्नुस्,” श्रीमान्ले कड्किँदै आदेश दिए ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्