
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति सम्भव नभएको बताएका छन् । श्रमिकको सम्मानबिना समृद्धि नहुने पनि उनले उल्लेख गरेका छन् ।
साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । “यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,” उनले फेसबुकमा लेखेका छन् ।
साउन १ देखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, “श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल !” रासस