
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यापारी एलन मस्कबीच आरोपप्रत्यारोपको शृंखला जारी नै छ । मस्कले फेरि एकपटक 'एपस्टिन फाइल' (दस्ताबेज)मा अमेरिकी राष्ट्रपतिको नाम रहेको बताएका छन् ।
मस्कले एपस्टिन फाइलमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम रहेको दाबी गरेको पहिलोपटक भने होइन । मस्कले डोनाल्ड ट्रम्पको बाल योन दुराचारी जेफ्री एपस्टिनमाथिको संघीय अनुसन्धानसँग सम्बन्धित फाइल छलछाम भएको दाबीप्रति ठट्टा गरेका छन् ।
“एपस्टिनले आत्महत्या गरे र घिस्लेन संघीय जेलमा एक ठगीका लागि जेलमा छिन् । यसलाई छलछाम भन्नु आश्चर्यजनक छ,” मस्कले एक्समा अमेरिकी राष्ट्रपतिले एपस्टिनबारे प्रश्न टार्ने प्रयास गरेको जवाफमा लेखेका छन् ।
“उनले फाइलहरू सार्वजनिक गर्नुपर्छ र कुन भाग छलछाम हो भनेर औँल्याउनुपर्छ,” मस्कले थपेका छन् ।
मस्कले एक्स पोस्टमा 'बुल्सआई' अर्थात् तीर निसानामा लागेको बताएका छन् । पोस्टको तल ग्रोक एआईको थ्रेड पनि जोडिएको छ ।
केही महिनाअघि चुनाव जितेपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग (डोज) को प्रमुख बनाएका थिए । तर, गत महिना मस्कले पदबाट राजीनामा दिए । त्यसपछि दुवैबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलेको थियो ।
मस्कले आफ्नो कारण ट्रम्पले चुनाव जितेको बताएका थिए । ट्रम्पले पनि मस्क र उनको कम्पनीमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउने बताएका थिए ।
यसबीच, मस्कले आफ्नो पोस्ट डिलिट गरेका थिए । मस्कले डिलिट गरेको पोस्टमा उनले ट्रम्पको नाम एपस्टिन फाइल्समा रहेको दाबी गरेका थिए । उनले ट्रम्पको नाम भएकाले नै प्रशासनले एपस्टिन फाइल्सलाई सार्वजनिक गर्न नचाहेको दाबी गरेका थिए ।
को हुन् एपस्टिन ?
जेफ्री एपस्टिन एक बाल यौन अपराधी र तस्कर थिए । जसमाथि धेरै महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । उनीमाथि शीर्ष राजनीतिक नेता, व्यवसायी र प्रख्यात व्यक्तिहरूको यौन सन्तुष्टिका लागि नाबालिक तस्करी गरेको आरोप पनि लागेको थियो ।
दर्जनौँ महिलाले एपस्टिनमाथि उनीहरूलाई आफ्नो निजी क्यारिबियन टापु र न्युयोर्क, फ्लोरिडा र न्यू मेक्सिकोका घरहरूमा आफ्ना र आफ्ना उच्चप्रोफाइल पाहुनालाई यौन सेवा प्रदान गर्न बाध्य पारेको आरोप लगाएका थिए । यौन शोषणको आरोपमा २० वर्षको जेल सजाय सुनाइएपछि जेलमा रहेका एपस्टिनले सन् २०१९ मा जेलमै आत्महत्या गरेका थिए ।
गार्जियनबाट ।