
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छे छाडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरेको बताएका छन् ।
बुधबार (असार ३२) सिंहदरबारमा पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिस नफर्किएको भन्ने आरोप निराधार रहेको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै गएका केही मानिसलाई उनले स्पेनमै छाडेर आएको संसद् बैठकमा आरोप लगाएकी थिइन् । आरोप लगाएको भोलिपल्ट संसद् बैठकमै उनले आफूले प्रधानमन्त्रीसँग गएका मानिस नफर्किएको नभनेको बताएकी थिइन् ।
त्यसपछि पनि लगातार यसबारेमा प्रश्न उठाइँदै आएको छ । यद्यपि, सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिस हुन सक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ ।
प्रधामन्त्रीको नेतृत्वमा गएका सबैजना फर्किएका सरकारको भनाइ छ । त्यसबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले प्रधानमन्त्रीसँग कतिजना जाने भन्ने व्यवस्था नै रहेको र भ्रम फिँजाइएकामा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताए ।
“स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसद्मा प्रश्न गर्नुभएको माननीयज्यूले एक खालको आत्मलोचना गर्नुभएको छ,” उनले भने, “मैले त्यसो भनेको होइन भन्नुभएको छ ।”
उनले अगाडि भने, “प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो । सम्माननीय प्रधानमन्त्रीज्यूको आचारविधि नै छ । कतिजना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जनाभन्दा बढी नलैजाने भन्ने छ ।”
मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाका बारेमा सरकारले अनुसन्धान गरिरहेको जानकारी दिए । प्रधानमन्त्रीसँग गएका मान्छे छाडेर आएको कुरा ३२सै आना गलत भएको उनले बताए । न्युज एजेन्सी नेपाल