site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमालवासी अहिले दिनको एकपटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद शेर्पा

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्र समस्या नभएको बताएका छन् । मंगलबार (असार ३१) राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

केही भएन भन्ने भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाए । सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले हिमाली भेगमा बसोबास गर्ने मानिस पहिला वर्ष दिनमा एकपटक पनि ननुहाउने गरेको उल्लेख गरे । हाल हिमालमा पनि प्रत्येक दिन नुहाउने गरिएको उनले बताए । यो एउटा उपलब्धि भएको उनको भनाइ थियो ।

उनले हिमाली क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।

सांसद शेर्पाले अवसर देखिने ठाउँमा जोकोही जाने टिप्पणी गरे ।

राष्ट्रियसभा बैठकमा सांसद सोनम गेल्जेन शेर्पाको भनाइ पढ्नोस्–
अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ ? केही भएन, केही भएन भन्ने छ । भएको चाहिँ के छ त ! केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरूले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमानदारिताका साथ भन्नुपर्छ । तर, आज इकोनोमी राम्रो भएको छ । हाम्रै जातका मान्छेहरू हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्री तापक्रम हुन्छ, त्यहाँ बसेर दिनको एकपटक नुहाउने स्थिति छ । यो प्रगति होइन त ? हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म । चिसो हुन्थ्यो, के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो गाह्रो हुन्थ्यो । मैले नै भोगेको कुरा हो । तर, आज हामी हिमाली क्षत्रेमा बसे पनि प्रत्येक दिन नुहाउँछौँ । एटेज बाथरुम छ । इकोनोमी राम्रो छ । विदेश पलायन नेपालको मात्रै समस्या होइन, सबैको समस्या हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्