site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पानी नपर्दा सुक्यो धानको ब्याड

धरान । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याड सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन सकेको छैन ।  

आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो सुक्न थालेको छ । 

स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, “यो वर्ष पानी पर्ने आशा त थियो । तर, चाहिएको बेला पानी परेन । हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ ।”

उनका अनुसार विद्युत् आपूर्ति सबै क्षेत्रमा नपुगेकाले पम्पसेटमार्फत सिँचाइ गर्न सम्भव छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलंका टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ ।

रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए । वर्षामा भर पर्ने उनीहरुजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ ।

कोसी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताए । 

धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन । “पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो । तर यसपालि  तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन”, तामाङले भने । 

सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ । 

किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन् । केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट राहतको माग गरेका हुन् । रासस

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्