
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लागि जारी गरेको मौद्रिक नीतिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । सिबिफिनले आइतबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरूले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको जनाएको छ । आर्थिक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको जनाएको छ ।
“बैंक तथा वित्तीय संस्थाहरूले पुँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहज रूपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको छ,” सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निष्क्रिय/खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको परिसंघले जनाएको छ ।
बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र सेयर धितो मार्जिनकर्जाको सीमा वृद्धि, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने व्यवस्था गरेर उद्योगीको मनोबल बढाएको परिसंघले जनाएको छ ।
विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने व्यवस्थाले साना तथा मझौला व्यवसायीलाई राहात मिलेनको परिसंघले जनाएको छ ।