काठमाडौं । विभिन्न अपराधमा कैद दिनेश भोगिरहेका कैदीबन्दीहरूको आन्तरिक व्यवस्थापनका निम्ति खटिने चौकीदार बन्न ठूला कारागारका कैदीबीच होडबाजी हुन थालेको छ ।
कारागार प्रशासनले हरेक एक आर्थिक वर्षमा परिवर्तन हुने गरी चौकीदार नियुक्त गर्ने गर्छ । चालु आर्थिक वर्ष सकिन लागेको छ । नयाँ आर्थिक वर्षमा चौकीदार बन्न कैदीबन्दीले कसरत थालेका छन् ।
चौकीदार बन्दा आर्थिक लाभ र कैद सजाय समेत छुट हुने स्थिति हुन्छ । पछिल्लो समय यस्तै कारण चौकीदार बन्द होडबाजी हुने गरेको छ । कतिपय ठूला कारागारमा दोहोरिएर चौकीदार बन्न कैदीबन्दी दौडधुपमा छन् ।
ठूला कारागार – काठमाडौंको सुन्धारा (जगन्नाथदेवल), ललितपुरको नख्खु, मोरङको झुम्का, मकवानपुरको भीमफेदी र कास्की कारागारका कैदीबन्दीबीच चौकीदार बन्न होडबाजी छ । विभिन्न कारागारका जेलरका अनुसार, लामो समय जेलमा रहेका कैदीबन्दीबीचमा चौकीदार बन्न तीव्र प्रतिस्पर्धा हुने गर्छ ।
कैदीबन्दीको भित्री व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी चौकीदारको हुने गर्छ । यसैले चौकीदार बन्न खोज्नेको सूची लामो हुने गरेको छ । चौकीदारको निर्देशनानुसार अरू कैदीबन्दी चल्नुपर्ने हुन्छ । कारागारभित्रको व्यापार, व्यवसायदेखि अरू सुविधामा समेत चौकीदार निर्णायक हुन्छन् । यसबाट चौकीदारलाई आर्थिक लाभ समेत हुने गरेको छ ।
सुन्धारा कारागारका जेलर कृष्ण कटवालले चौकीदार बनाउँदा अरू कैदीबन्दीको रायसल्लाह सुनिने र सबैले रुचाइएका पात्रलाई छानिँदै आएको बताए । उनले बाह्रखरीसित भने, ‘‘भित्रको अन्तरिक जिम्मा नै चौकीदारको हुन्छ । भित्र प्रहरी समेत जान पाउँदैनन् । यस्तो अवस्थामा राम्रो चालचलन भएका कैदीहरूमध्येबाट एकजनालाई बनाउने गरेका छौँ ।’’
दोहोरिएर चौकीदार बन्न चलखेल
कास्की कारागारका कैदीबन्दी दिनेश क्षेत्रीले दोहोरिएर चौकीदार बन्न जेलरमाथि नै दबाब सिर्जना गर्न थालेका छन् । कारागार स्रोतका अनुसार, उनी दोस्रोपटक चौकीदार बन्न खोजिरहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र गुरुङ उर्फ महेन्द्र भोटेका माध्यमबाट उनले जेलरलाई दबाब दिन थालेका हुन् । दिनेशलाई चौकीदार बनाउन भोटे चलखेलमा रहेका ती पूर्वकैदीबन्दीको भनाइ छ ।
दिनेश ज्यान मुद्दामा दोषी ठहर भएर कैद सजाय भोगिरहेका छन् । उनी यसअघि कास्की कारागारको चौकीदार बनिसकेका छन् । उनी पुनः चौकीदार बन्ने दौडमा लागेका हुन् ।
एक वर्षअघि कारागार व्यवस्था विभागले हरेक कैदीबन्दीले समान सुविधा प्रयोग गर्न पाऊन् भन्ने उद्देश्यले एकपटक चौकीदार, नाइके, भाइनाइके बनेकालाई नदोहोर्याउने कार्यविधि बनाएको थियो । तर, योपटक विभागले एक वर्ष चौकीदार रहेर बीचमा ‘ग्याप’ भएकाहरू पुनः नियुक्त हुन मिल्ने गरी आन्तरिक कार्यविधि बनाएर कारागारहरूमा पठाएको छ ।
कास्की कारागारका जेलर राजेन्द्र शर्माले विभागको ‘गाइडलाइन’अनुसार नै चौकीदार नियुक्त गरिने बताए । ‘‘हामीलाई एकपटक चौकीदार भएकाहरू पुनः दोहोरिन नमिल्लने भन्ने छैन । त्यो मिल्छ नै,” उनले भने, “विभागको गाइडलाइन समेत त्यही छ । चौकीदार नियुक्त गर्ने मैले चाहेर मात्रै हुने होइन ।’’
प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेतृत्वको समितिले उपयुक्त देखिएका कैदीबन्दीलाई चौकीदार नियुक्त गर्ने गरेको शर्माले जानकारी दिए ।
विभागका निर्देशक कल्पना घिमिरेले भने कारागार ऐनमा व्यवस्था भएअनुसार नै चौकीदार कार्यविधि बनाइएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘‘हामीले कार्यविधिभन्दा पनि हामीले ऐनअनुसार नै बनाउने गरेका हौँ । त्यहीअनुसार गर्ने हो ।’’
कारागार ऐनअनुसार चौकीदारलाई वर्षमा ७२ दिन कैद छुट हुन्छ । नाइकेलाई ६० र सहनाइकेलाई ४८ दिन कैद सजाय छुट हुने व्यवस्था छ ।