site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रेम परिणति

योजना त मेरो केटी भगाउने नै हो । सुन्दा यो नराम्रो लाग्न सक्छ, केटी भगाउनु । बढेका छोरी भएका परिवार जजसले छोरीको बिहे गर्नै सकिरहेका छैनन्, तिनले अवश्य पनि भन्नेछन्, ‘यस्तो धारणा राख्ने र त्यो धारणा सार्वजनिक गर्दै हिँड्ने व्यक्तिले नै गर्दा छोरीहरू सुरक्षित छैनन्, बिग्रे र समाज भाँडिएको पनि छ ।’ 

यस्तो कुरा हाम्रो प्रेमको सघनता नबुझेकाले भन्छन्, मेरो सोचाइ यही छ । तर, अहिलेको कुरा म केटी भगाउन लागेको छु भन्नाले त्यो केटी मणिका – जसलाई म प्रेम गर्दछु, उसलाई म सच्चा प्रेम गर्छु, जसले जे भनोस् ।

तर, समाजमा सच्चा प्रेमको मूल्य र मान्यता छैन । जताततै देखावटीपन छ — पैसाको, तडकभडकको, पद र ओहदाको । यसले प्रेम प्रदूषित छ र पे्रममा बाधा पारिरहेछ ।

भनाइ यस्तो आउन सक्छ, आफ्नो हैसियत मिल्दोसँग प्रेम गर्नुपर्छ । त्यसले प्रेमीप्रेमिकामा संकट पैदा गर्न सक्दैन । हैसियत भन्नु प्रेमको सन्दर्भमा वाहियात मान्नुपर्छ । केटीले मलाई मन पराई । यस्तो कुनै विशेषता ममा थिएन, तर केटीले गोप्य भेटघाटमा आफ्नो प्रेम प्रकट गर्दै भनेकी थिई, ‘म प्रेमका लागि जस्तोसुकै मूल्य तिर्न तयार छु ।’

कुरो यो न भयो । केटीले नै जब्बर आँट गरिरहेकी छ भने म पछि हट्ने कुरो भएन । पछि हट्ने कुरोमा यो बाधा पनि थियो – केटीले भनी, ‘मैले तिमीलाई पाइनँ भने विष खाएर आत्महत्या गर्छु ।’

स्पष्ट छ, यसले गर्दा ममा आत्मबल बढेर आयो । आत्मबल भन्नु पनि के थियो र ! केटीको पे्ररणा र सहारा पाएपछि ममा एक अपूर्व खालको साहस जन्मियो । साहसी म थिइनँ । मेरो घरपरिवारको अवस्था गरिबीको थियो । प्रेमको सम्मिलनका लागि केटीको प्रेरणाले म साहसी भइटोपले पनि गरिबी एउटा ठूलो बाधा थियो ।

ठूलो बाधा अर्थात् बाधा विशाल थियो । त्यो एउटा मात्र बाधा थिएन हाम्रो प्रेमको परिणतिका लागि । समाजले हेय दृष्टिले हेर्न पनि सक्थ्यो र मलाईभन्दा केटीलाई बढी, गरिबसँग प्रेम गर्ने भनेर । 

दुःखकष्ट भोग्नु पनि बढी पर्ने थियो केटीलाई । मैले भनेँ, ‘हाम्रा पनि दिन आउनेछन् ।’ 

केटी अर्थात् मणिका मेरा कुराले प्रफुल्ल भई, उत्साहित पनि । ‘हामीले नराम्रो केही गरेका छैनौँ, मोहन । प्रेम गर्नेहरूले सधैँ भोग्ने समस्या यही हो र तिनको मिलनका बाटा कष्ट र बाधापूर्ण हुन्छन् ।’

यो विन्दुमा म केटीलाई झन् मन पराउन थालेँ । भविष्यमा हुने हाम्रो सन्तानका लागि मणिकाका यी भनाइहरू उपयोगी र मार्गदर्शक हुन सक्ने मैले ठानेँ ।

यस्तो थिएन — आज प्रेम भयो, भोलि नै हामी भागिहाल्यौँ । त्यो कच्चापन हुने थियो । केही वर्षको अन्तराल राख्यौँ, राख्नैपर्‍यो । एक आदर्शवादी पे्रमीप्रेमिकाको जोडीझैँ हामी आचरणगत शुद्धता पालन गर्दै आआफ्नो अध्ययनमा तल्लीन रह्यौँ ।

मनमा यो विश्वास थियो— हाम्रो शुद्ध प्रेमको सम्मिलन अवश्यम्भावी छ । हामी एकार्काका लागि बनेका हौँ । यस्ता धारणा मनमा आइरहे । नआउनु पनि थिएन, किनभने प्रेममा अन्ततः नायक र नायिकाको मिलन भएको हुन्थ्यो लोककथाहरूमा, पिक्चरहरूमा ।

पिक्चरहरूमा त अझ असत्यमाथि सत्यको विजय भएको हुन्थ्यो अन्तिम दृश्यमा । इन्डिङमा हिरोले नायिकालाई खलनायकको चंगुलबाट उद्धार गरेर विवाह बन्धनमा बाँधेरै छाड्थ्यो । तर, कुनैकुनै पिक्चरमा मर्मान्तक बिछोड पनि हुन्थ्यो, तर ती फ्लप हुन्थे ।

बिछोड यसकारण, समाजबाट पुराना मान्यताहरूको जरो उखेलिएको हुँदैनथ्यो । वियोगान्त कथाहरूमा राजकुमारीहरू हुन्थे, देवलोकका अप्सरा हुन्थे र नायक दाउरेको मालीको छोरो हुन्थ्यो ।

यता आधुनिक समयमा नायिका अत्यन्त सेठकी छोरी हुन्थी । उसको बाउले ड्रगको धन्दा गरेर अकुत सम्पत्ति कमाएको हुन्थ्यो वा भ्रष्टाचारी नेताकी छोरी हुन्थी ऊ – जो सच्चा प्रेम पाउन लालायित हुन्थी ।

अन्ततः अचेल नायक यस्तो हुन्थ्यो, प्रहरीको जवान वा अरू केही – जसले केटीको ड्रग वा भ्रष्ट नेता पितालाई ज्यानको बाजी लगाएर जेलको हावा ख्वाउँथ्यो अनि नायिकालाई आफ्नो बनाइछाड्थ्यो ।

हलभरि ताली गुन्जिथ्यो । कतै म पनि त्यही तालीको खोजीमा छु ? मनमा प्रश्न आउँथ्यो ।

यसमा अलमल त थियो, तर मैले सोचेँ— यस्तो लटरपटर सोचेर वास्तविक जिन्दगी चल्दैन । मुख्य त यही हो, केटीले मसँग प्रेम गर्छे । त्यो प्रेमको भरोसाले म केही गरूँ, समाजमा प्रतिष्ठा आर्जन गरूँ, इमानदार तरिकाले धनपैसा कमाऊँ ।

तर, इमानदार तरिकाले धनपैसा कमाउने उपाय अहिलेको समयको सन्दर्भमा बन्दप्रायः थियो । म कुनै उपाय नै देख्दैनथेँ । मनमा निराशा पनि आउँथ्यो, उदासीनता छाउँथ्यो । केटी मणिकाले मलाई वास्तवमै प्रेम गर्छे ।

यो सम्झेर मनमा वेदना पैदा हुन्थ्यो, उसको प्रेम मेरो गरिबीमा जाकिएर कतै विलुप्त नहोस् । भोलिका दिनको के ठेगान, ऊ रोगी भएर उचित उपचार नपाएर रोगले दिनप्रतिदिन गलेर करुणाजनक रूपमा मरिजाओस् ।

यसको प्रभावमा परेर म सहरको एक मात्र पोखरीछेउ गएर घण्टौँ उदास मनले चिन्तामग्न हुन्थेँ । पोखरीमा पानी सुकिसुकेको हुन्थ्यो र एक किसिमको असह्य दुर्गन्ध पनि उठिरहेको हुन्थ्यो । त्यसले मलाई धेरै बेर पोखरीको छेउमा टिकिरहन दिँदैनथ्यो ।

सहरको वातावरण ठिक थिएन । प्रहरीहरूका दंगानियन्त्रक पोसाकका जवानहरू ठसाठस कोचिएका भ्यान सडकसडक कुदिरहेका हुन्थे । सहरमा हल्ला थियो, परिवर्तनका लागि जुलुस र प्रदर्शन भइरहेछ ।

त्यो वातावरण एक सहायक बाधाको कारण थियो, मलाई धेरै दिनदेखि मणिकालाई भेट्न नदिने । छ महिनाजतिपछि मैले सोचेँ— मणिका सोच्दी हो, मोहन सुखी जीवनको खोजीमा खाडी मुलुकतिर लाग्यो, मलाई नसोधी ।

थप सोची होली— पुरुषार्थ गर्नेहरूले आफ्नो निर्णय आफैँ गर्छन् । सोचाइ मेरो पक्षमा थियो । 

पुरुषार्थ कसिंगर ! हुनु त थियो, सच्चा प्रेमको परिणति । सच्चा प्रेमको परिणति यस्तो हुनु रहेछ, बिछोड ! मलाई खबर पनि गरेन । मसँग सरसल्लाह गरेको भए म ऊ खाडी मुलुकबाट फर्कंदासम्म पर्खिने थिएँ ।

मणिकाको मनमा आशंका पनि हुँदो हो— कतै मेरो पर्खाइ यसरी बालुवामा पानी खन्याएसरह हुने पो थियो कि, खाडी मुलुक गएको ऊ बाकसमा फर्कोस् । प्रेम गरेर पछुतो गर्नुपर्ने यो पनि एउटा कारण देख्थी मणिका ।

मलाई त्यो त्रास पनि थियो, मणिका केटी थिई अहिलेकी । फूलभैmँ कोमल भए पनि अन्ततः फूलको थुँगा ओइलाएर झर्ने भएसम्म उसले पर्खिने हो वा होइन ? मलाई लाग्यो, फूल टिप्न धेरैहरू लालायित छन् ।

कहिलेकाहीँ भेटमा भन्थी, ‘मेरो बिहेका लागि धेरै केटाहरूको प्रस्ताव आएको छ । कोही डाक्टर छन्, कोही इन्जिनियर । कोही अस्ट्रेलियाका त कोही अमेरिकाका । दुईतीनजना त यूकेका पनि थिए ।’ 

एउटा दुराशयपूर्ण सम्भावना यो पनि थियो, उसको बाबुले उसको बिहे आफूले उपयुक्त देखेको कुनै एक केटोसँग तय गरिदेओस् । बिहे तय भएपछि उसलाई घरबाट बाहिर निस्कन कडा प्रतिबन्ध लगाइयोस् ।

छ महिनाको अवधि त्यसै पनि छोटो हुँदैन । हाम्रो प्रेमको सुइँको उसका आमाबाबुले पाइसकेको हुनुपर्छ । नपाएको भए उसलाई फुक्काफाल डुलफिर गर्नबाट रोक लगाउन सकिन्छ ।

छोरीको जात अझ त्यसमाथि राम्री र सम्पन्न परिवारकी भनेपछि कसैले अपहरण गरेर जबरजस्ती गर्‍यो भने ? प्रेम खतरायुक्त हुन्छ, प्रश्नका काँडैकाँडाले घेरिएको । गुलाफमा पनि त काँडै हुन्छ । छोरी त गईगई समाजमा मुख देखाउन लायक पनि रहिन्न, भएकी एउटी छोरी पनि सम्हाल्न नसक्ने कस्ता आमाबाबु हुन् भनेर ।

मेरो मन छटपटियो । केटी हो । केटा पनि त्यही हो । केटो फेरिन सक्छ भने केटी मात्रैलाई केको दोष ? छटपटी यसरी बढेर गयो मैले छ महिनापछि मणिकाको घरको बाटो समातेँ ।

एक मनले त भनिरहेथ्यो, ‘केटा, तैँले ढिलो गरिस् !’ प्रेममा प्रतीक्षाको आनन्द बेग्लै हुन्छ । यहाँ त आनन्द होइन शोक प्रतीक्षित थियो ।

घरअगाडि पुग्दा मैले टेकेको जमिन नै भासियो । घर दुलहीझैँ सजिसजाउ थियो । बिजुलीका अनेक रंगबिरंगी सानाठूला झ्यापझुपे बत्तीहरूले नयाँ रङरोगन गरिएको सुसज्जित बिल्डिङ ।

त्यस द्वारमा दुलहीको रातो पोसाकझैँ ठूलो भड्काउ किसिमको तुल झुन्डिएको थियो । माथि ठूला अक्षरमा ‘स्वागतम्’ लेखिएको थियो ।

त्यसमुनि थप लेखिएको थियो, ‘महेश वेड्स मणिका’ । बडो सुन्दर अक्षरहरूमा लेखिएको थियो । घरभित्र चहलपहल थियो । कम्पाउन्डभित्र अनेक मोडेलका ईभी र पेट्रोल कार एकमाथि अर्को खापिएर उभिएका थिए ।

आजै रहेछ बिहे । सेक्युरिटी तगडा थियो । मणिकालाई भेट्ने अवसर नै थिएन, उसको बिहे भइरहेको थियो । घरभित्रबाट हाँसोहरू बाहिर छताछुल्लिरहेका थिए । मलाई आकाश खसेजस्तो भयो, जमिन भासिएको त मैले अघि नै भनिसकेँ । यसमा टिप्पणी गर्नु केही थिएन ।

मणिकाले आफ्नो उज्ज्वल भविष्य सोचेर उपयुक्त बाटो समाती । बिहेपछि पनि प्रेम हुनसक्छ भन्ने सोची कि ! मैले भनिरहेको थिएँ, ‘हामी इमानदारीपूर्वक आदर्श जीवन बाँचौँ ।’

त्यस्तो आदर्शको भविष्य नभएको सोची छ केटीले । आदर्श ! अहिलेको यो काण्डैकाण्ड र घोटालाको जमानामा आदर्श ? त्यसका बाआमाले दुनियाँ सम्झाएर ब्रेनवास गरे कि !

तर, मलाई एउटा कुरामा आश्चर्य लागिरहेको थियो, मेरो नाम मोहन र मणिकाले बिहे गर्न स्वीकार गरेको केटाको नाम महेश । ‘म’ भन्ने अक्षरप्रति मणिकाको मोह प्रस्टै थियो । हामी दुवैको नाम ‘म’ अक्षरबाट सुरु भएको थियो । मणिकाको नाम पनि ‘म’ अक्षरबाटै सुरु हुन्थ्यो ।

तर, उसले चयन गरी मोहनलाई होइन महेशलाई । चयनको स्वतन्त्रता त छँदै छ नि ! मैले मनमनै भनेँ, ‘मणिका तिम्रो विवाहित जीवन सफल होस् ।’

मेरो शुभकामना कतै अभिशाप नबनोस् । गरिब प्रेमीको शुभकामना अभिशापमा परिणत हुन के बेर ! प्रेमको परिणति म त्यस्तो होस् भन्ने किमार्थ चाहँदैनथेँ ।

मैले सफलताको कामना दिए पनि नदिए पनि बिहेको अर्को दिन ऊ यूएसतिर उडी भनेको सुनेँ । आँसुको मूल्य नै छैन भनेपछि के आँसु खसाल्नु भनेर म हाँसिरहेँ र आकाशमा उडिरहेको प्लेनलाई हात हल्लाएर टाटा बाईबाई गरिरहेँ ।

मणिका त्यही प्लेनमा हुनु सम्भव थियो वा थिएन देव जानोस्, तर ऊ प्लेन चढेर गएकी अवश्य हो ।                
   
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्