site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेश जाँदै हुनुहुन्छ ? यी वस्तुहरू नलगाई जानुहोला !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेश जानेहरूलाई खास पहिरनको प्रयोग नगर्न अनुरोध गरेको छ । अर्थात्, अध्यागमन कार्यालयले केही पहिरनमाथि प्रतिबन्ध लगाएको छ । अध्यागमन कार्यालयले खादा, माला वा सोही प्रकृतिका वस्तुहरू नलगाउन यात्रुहरूलाई अनुरोध गरेको छ ।

“अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला, वा यस्तै अन्य सजावटी वस्तुहरूको प्रयोग नगर्नुहोला,” अध्यागमन कार्यालयले आफ्नो सूचनामा भनेको छ, “यी वस्तुहरूको प्रयोगमार्फत अध्यागमन प्रशासनको कार्यमा हुन सक्ने सम्भावित जोखिम एवं अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले यस्तो वस्तुहरूको प्रयोग निषेध गरिएको छ ।”

कुनै खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरू पनि नलगाउन अध्यागमन कार्यालयले भनेको छ । यी नियमहरू बिहीबारबाट लागु भएको कार्यालयले जनाएको छ । 

“कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी/म्यानपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन । यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनार्थ यो नियम लागु गरिएको हो,” कार्यालयले भनेको छ । 

यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन अध्यागमन कार्यालयले अनुरोध गरेको छ । “नियमको उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ,” कार्यालयको सूचनामा भनिएको छ ।

नेपालको अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूले यस नियमको पालना गर्नुपर्ने कार्यालयले जनाएको छ ।

अध्यागमन क्षेत्र एक संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि, पहिरन, पहिचान, खास संकेत खुल्ने आभूषण वा खादा, माला, चस्मा, फरक किसिमको टोपी आदिले अध्यागमन प्रशासन एवम् सुरक्षा व्यवस्थामा पर्‍याउन सक्ने असरलाई मध्यनजर गर्दै नयाँ नियम बनाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्