
काठमाडौं । काठमाडौं महानगरपालिका अस्तव्यस्त बनेको छ । चालु आर्थिक वर्षलाई क्लोजिङ गर्ने अन्तिम मितिमा महानगर अस्तव्यस्त बनेको हो ।
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार आज बस्ने भनिएको कार्यपालिका बठक पनि अनिश्चित छ । “आज कार्यपालिका बैठक बस्ने र शुक्रबार नगरसभाबाट पारित गर्ने भन्ने थियो । तर, अहिलेसम्म कुनै जानकारी आएको छैन । आज ‘क्लोजिङ डेट’ भएकाले हामी अस्तव्यस्त छौँ,” उनले भने, “बैठक हुने भए धेरै समय लाग्दैन । कर्मचारीको तर्फबाट सबै तयारी पूरा भइसकेको छ ।”
करिब ७ महिनादेखि कार्यपालिका बैठक बस्न नसक्दा नयाँ आर्थिक वर्ष २०८२/०८३ को महानगरको बजेट अहिलेसम्म अनिश्चित बनेको छ ।
स्थानीय तहले असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
तर, महानगरका मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रतिष्ठाको लडाईंले बजेट आउन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र सभामा पेस गर्नुपर्छ ।
सो बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने सोही उपदफा ६ मा व्यवस्था छ । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ । नयाँ आर्थिक वर्षको बजेट पारित नगरी रकम खर्च गर्न नपाइने प्रावधान छ ।