site stats
बाह्रखरी :: Baahrakhari
खेल
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार, विजयले पाए ६५ लाख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मानसहित पुरस्कार प्रदान गरेका छन् ।

बालुवाटारमा आज युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापानमा भएको तेस्रो थाउलो वर्ल्डकपमा कांस्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कांस्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।

यस्तै, गत असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइएको छ ।

उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

साथै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल विपीन शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्