site stats
बाह्रखरी :: Baahrakhari
देश
केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् चीनसँग समन्वय गर्ने

काठमाडौं । सरकारले बाढीबाट क्षतिग्रस्त केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् चीनसँग समन्वय गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो । 

नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोसी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएको थियो । पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको हो । 

सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ भने चीनसँगका वैकल्पिक नाकाहरूको सञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।

बगाइएको मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो सुचारु गर्न नेपालका लागि चिनियाँ राजदूतलाई आफूले आजै आग्रह गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । मुस्ताङको कोरला नाकालगायत वैकल्पिक मार्गलाई व्यवस्थित सञ्चालनको तयारी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्