
विराटनगर । इरान र इजरायलबीच युद्ध जारी छ । इजरायलले इरानमा विभिन्न आणविक प्रयोगशालामा आक्रमण गरेको छ । त्यसक्रममा उच्च सैन्य अधिकारी समेत मारिएका छन् । इरानले पनि जवाफी कारबाही गरेको छ । इजरायलभर त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ ।
मोरङको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला हाल इजरायल भ्रमणमा छन् । आइतबार (असार १) बिहान आफ्नो सचिवालय सदस्यसँगको कुराकानीमा उनले आफू सुरक्षित स्थानमा रहेको बताएका छन् ।
कोइरालासहित विभिन्न देशका सहरका मेयर यति बेला इजरायल भ्रमणमा छन् । सहरी विकास र फोहोर व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदानका निम्ति उनी इजरायल पुगेका कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल खुल्नासाथ मेयर कोइराला फर्कनेछन् । उनी इजरायलको राजधानी जेरुसलमा छन् ।
जवाफी कारबाहीस्वरूप इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा क्षति पुगेको छ । उक्त आक्रमणमा कम्तीमा सातजनाको मृत्यु भएको छ । १०० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।