
काठमाडौं । इजरायली सेनाका एक अधिकारीले शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको बताएका छन् । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ ।
“यो एकदिने हमला होइन,” इजरायली सेनाको एक स्रोतले सीएनएनलाई भन्यो ।
इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले परमाणु वैज्ञानिकहरूले बताएको नतान्जमा रहेको इरानको मुख्य परमाणु विकास संरचना र इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको मुटुलाई निशाना बनाएको बताए ।
रुबियोले भने– इजरायली हमलामा अमेरिकी संलग्नता छैन
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन् । “आज राति इजरायले इरानविरुद्ध एकतर्फी कारबाही गर्यो । हामी इरानमा गरिएका हमलामा संलग्न छैनौँ । हाम्रो उच्च प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाहरूको सुरक्षा हो,” उनले एक वक्तव्यमा भनेका छन् ।
आपत्कालीन अवस्था घोषणा
इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपत्कालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ ।
सीएनएनका जेरुसलेम ब्यूरो प्रमुख ओरेन लिबरम्यानका अनुसार देशमा आपत्कालीन अवस्था घोषणा गरिएपछि जेरुसलेमभर साइरन बजेका थिए ।
लिबरम्यानले भने, “नागरिकहरूको मोबाइलमा अलर्ट आएको छ । यसले होम फ्रन्ट कमान्डले देशलाई सतर्क अवस्थामा राखेको बताउँछ ।”
स्थानीय समयअनुसार बिहान ३ बजे इजरायली रक्षा बलले देशभर पूर्ण गतिविधिबाट आवश्यक गतिविधिमा सारिएको घोषणा गरेको छ ।
नयाँ निर्देशनअनुसार आवश्यक क्षेत्रबाहेक शैक्षिक गतिविधि, सभा तथा कार्यस्थलमा प्रतिबन्ध लागु गरिएको छ ।
ट्रम्पले मन्त्रिपरिषद् बैठक बोलाए
इजरायलले इरानविरुद्ध हमला गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ह्वाइट हाउसका एक अधिकारी र दुई स्रोतले सीएनएनलाई दिएको जानकारी अनुसार इरानमा भइरहेको घटनाक्रमप्रति अमेरिकी प्रतिक्रिया यस बैठकको मुख्य विषय हुनेछ ।
राति ८ बजेपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा कांग्रेसले आयोजना गरेको पिकनिक कार्यक्रम छोडेको देखिएको थियो ।
अमेरिकी अधिकारीहरू खतरा बढ्दै गएको देखेपछि हमलाअघि नै ट्रम्पले यो उच्चस्तरीय बैठक बोलाएका हुन् । सीएनएन