
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई पत्र पठाएर दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले जेठ २१ गते गृहसचिव दुवाडीलाई सात दिनभित्र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
“दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धमा गृह सचिवलाई प्रधानमन्त्री कार्यालयले पत्र पठाएको हो,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले बाह्रखरीसँग भने, “सात दिनभित्र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गरेको विवरण पठाउन पत्रमा भनिएको छ ।”
गृहसचिव दुवाडीले दरबन्दीभन्दा बढी कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटाएको भेटिएपछि स्पष्टीकरण सोधिएको हो । “गृहसचिवले सात दिनभित्र जवाफ नपठाए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुन्छौँ भन्ने पत्रमा उल्लेख गरिएको छ,” प्रवक्ता आचार्यले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा सम्बन्धमा अनुसन्धान गर्दा गृहसचिवले दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको पाएको थियो । त्यसपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएर के भएको हो बुझ्न भनेको थियो । “अख्तियारले किन दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको हो बुझ्न भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएपछि प्रधानमन्त्री कार्यालयले गृह सचिवलाई पत्र पठाई यथार्थ बुझ्न खोजेको हो,” प्रधानमन्त्री कार्यालयका प्रवक्ता आचार्यले भने ।
प्रवक्ता आचार्यका अनुसार, गृहसचिव दुवाडीले दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको र उनीहरूले सेटिङमा भिजिट भिसामा नेपालीलाई विदेश पठाउन मानव तस्करहरूलाई सघाएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमा दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन पठाएर गृहसचिव दुवाडीले अनियमितता गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।
अख्तियारले सोही उजुरी साथमा राखेर गृहसचिवको कार्य बुझ्न भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयले गृहसचिवलाई पत्र पठाएको हो । “यसअघि पनि दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्नुस् भनि दुई–तीनपटक पत्र पठाएको हो । तर जवाफ आएन । अहिले अख्तियारले भनेपछि फेरि पत्र पठाएका छौँ,” उनले भने ।
गृह मन्त्रालयअन्तर्गतका केही कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको तर केही कार्यालयमा दरबन्दी जति पनि कर्मचारी नहुँदा काममा असर गरेको बुझाई अख्तियार र प्रधानमन्त्री कार्यालयको छ । “कतै कर्मचारी नपुग्ने तर कतै बढी राख्न त भएन । त्यसैले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न भनिएको हो,” प्रवक्ता आचार्यले भने ।
अख्तियारले यही जेठ ७ गते गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । मानवतस्करको सेटिङमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउन सघाएका आरोपमा अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पनि छापा मारेको थियो । अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्ट अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई पनि जोड्दै प्रतिपक्षी दलहरूले उनको राजीनामा माग गरिरहेका छन् । लेखकको राजीनामा माग गर्दै केही दिनयता प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।