
काठमाडौं । चलचित्र ‘माइतीघर’को छायांकन सकिएको छ । ३२ दिनमा छायांकन सकिएको निर्माणपक्षले जनाएको छ ।
“३२ दिनमा हाम्रो चलचित्रको छायांकन सकिएको छ । अब दुईवटा गीतको छायांकन मात्रै बाँकी छ,” निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
चलचित्रको छायांकन म्याग्दीको ताकम, धारपानी गाउँ, दरबाङस्थित तातोपानी क्षेत्रमा गरिएको छ ।
मिलन तामाङको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।
रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन छ ।
चलचित्रमा रविन शेरचन र धीरज तामाङ सह–निर्माता छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल छन् ।
चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो चलचित्र माइतीघरको सिक्वेल भने नभएको निर्माता रोहित अधिकारीले बताएका छन् । शीर्ष गीत भने पुरानो ‘माइतीघर’को हुनेछ ।
निर्माता रोहिका अनुसार दसैँको फूलपातीको दिन चलचित्र रिलिज हुनेछ ।