site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो

वीरगन्ज । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे सवारीसाधनको आयात घटेको छ । चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने ७३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । 

आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । 

Argakhachi Cement Island Ad

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगन्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताए । 

इन्धनबाट चल्ने चार पांग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पांग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व संकलन भएको छ । तर, गत आवको सोही अवधिमा भने चार अर्ब ३९ करोड राजस्व संकलन भएको थियो । 

चालु आवको १० महिनामा ट्रक, मिनिट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । गत आवको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनिट्रक आयात भएको थियो । 

चालु आवको १० महिनामा विद्युतबाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । गत आवको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । 

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना/ठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका रु दुई करोड १४ लाख ७५ हजार ४७१ वटा  सवारीसाधन आयात भएका छन् । 

ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्