
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ ।
बुधबार होटल रोयलसिंगीमा एक कार्यक्रम आयोजना गरी एनओसीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको हो ।
कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवर्द्धन गर्न यी दुवै संस्थाले आ–आफनो दायराभित्र रहेर सहकार्य गर्दै आएको बताए ।
अध्यक्ष श्रेष्ठले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्त्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढिरहेको भन्दै नेपाली खेल पत्रकारहरूको प्रशंसा पनि गरे ।
उनले एनओसीलाई लिएर हाल भइरहेको विवादमा पक्ष–विपक्षबीचको सीमांकन ‘क्लियर’ गरेर नेपाली खेलकुदलाई स्थापित गर्नुपर्ने भनाइ पनि राखे ।
यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहं र अदूदर्शिताले नेपाली खेलकुद समस्या रहेको र खेलाडीको भविष्य अन्योलमा परेको बताए ।
आफूहरू सरकारविरोधी नभएको उल्लेख गर्दै उनले भने, “सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरूको हकहितका लागि काम गर्न चाहन्छौँ र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा छ ।”
कार्यक्रममा बोल्दै एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनाका आधारमा समान प्रकृतिको संस्था भएको जनाउँदै लामो समयदेखि दुवै संस्थाले सहकार्य गर्दै आएको बताए ।
अध्यक्ष अधिकारीले पत्रकारिताले फरक स्वरूप लिएको यस डिजिटल युगमा नेपाली खेल पत्रकारहरू अझ क्षमतावान् बनाउन आफले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विगतमा यस्तै समस्याले नेपालको अन्तर्राष्ट्रिय सहभागिता अन्योलमा परेका बेला एनएसजेएफले पहलकदमी गरेका क्षणहरू समेत स्मरण गरे ।