
काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गरेपछि मंगलबार सूचना टाँस गरेर ११ बजेका लागि बोलाइएको थियो ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्रीलगायत छलफलमा छन् । सोही बैठकको निष्कर्षको पखाईमा संसद् सुरु हुन नसकेको हो ।
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले आफूहरूको अडान कायम रहेको बताए । “बालुवाटारमा बैठक भइरहेको सुनिएको छ । हामी हाम्रो अडानमा कायम छौँ,” झाले भने ।
प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)का सांसदले गृहमन्त्रीको राजीनामा माग गर्दै मंगलबारको सदन अवरोध गरेका थिए ।
सत्तापक्षले भने पहिले गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएको छ ।