
काठमाडौं । उत्तर कोरियाले अमेरिकाको भविष्यगामी ‘गोल्डन डोम’ मिसाइल रक्षा प्रणालीको योजनालाई आलोचना गर्दै यसले अन्तरिक्षलाई सम्भावित आणविक युद्धभूमि बनाउने खतरा निम्त्याएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्म सार्वजनिक गर्ने योजना बनाएका यो रक्षा प्रणालीमार्फत अमेरिकामाथि हुनसक्ने व्यालिस्टिक र क्रुज मिसाइल जस्ता नयाँ पुस्ताको हवाई आक्रमणहरू रोक्न उद्देश्य राखिएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयले यो योजनालाई ढोंगी र अहंकारको चरम रुप भनेर आलोचना गरेको त्यहाँको राज्य नियन्त्रित सञ्चारमाध्यमले उल्लेख गरेको बीबीसीले जनाएको छ ।
यसले अमेरिकामाथि अन्तरिक्षलाई सैन्यीकरण गर्न जुनसुकै मूल्य चुकाउन पनि तयार भएको आरोप लगाएको छ । योजनाले विश्वको आणविक र अन्तरिक्ष हतियार दौड सुरु गर्न सक्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाले अमेरिकालाई प्रतिद्वन्द्वी मान्छ । साथै, अमेरिका र दक्षिण कोरियाबीच भएका सैन्य अभ्यासहरूलाई नियमित रूपमा निन्दा गर्दै आएको छ ।
कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका वरिष्ठ विश्लेषक हङ मिनले एएफपीलाई बताएअनुसार उत्तर कोरियाले गोल्डन डोमलाई आफ्नो आणविक शस्त्र भण्डारलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने खतराको रूपमा हेरेको हुन सक्छ ।
“अमेरिकाले यो नयाँ मिसाइल रक्षा कार्यक्रम पूरा गरेमा उत्तर कोरियाले यसलाई प्रतिरोध गर्न वैकल्पिक माध्यम विकास गर्न बाध्य हुनेछ,” उनले भने ।