
काठमाडौं । युट्युबर प्रकाशचन्द्र दाहालविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आपराधिक उपद्रव र संगठित अपराध गरी दुई कसुरमा मुद्दा दायर गरेको छ ।
प्रहरीले बयानका लागि बोलाउँदा पनि अनुपस्थित भएको बताउँदै चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनका क्रममा उनी दुर्गा प्रसाईंसहितको टोलीसँग रहेको आरोपमा मुद्दा दायर गरेको दाहालको दाबी छ ।
प्रहरीले जेठ ११ गते काठमाडौंमा मुद्दा दायर गरेको छ । दुर्गा प्रसाईंले प्रहरीलाई किच्ने प्रयासस्वरुप गाडी हुइँक्याउँदा पत्रकार दाहाल सोही गाडीमा भिडियो कैद गर्दै थिए । सोही अभियोगमा उनलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
तर दाहालले भने आफू विशुद्ध पत्रकार रहेको दाबी गर्दै प्रहरीले अनावश्यक दुःख दिएको बताए ।
“पत्रकार महासंघ पनि मलाई राज्यले यसरी दुःख दिँदा मौन बस्नु राम्रो होइन,” दाहालले भने, “राज्यले भिडियो खिचेकै आधारमा यसरी मुद्दा चलाउँदै जाने हो भने भोलि कोही पनि पत्रकारले रिपोर्टिङ गर्न सक्दैन ।”
उनले त्यसबाहेक आफूले कुनै संगठित अपराध गरेको भए राज्यले छानबिन गर्न सक्ने बताए ।
उनले आफूले आफ्नो सञ्चारमाध्यमका लागि लिएको भिडियोलाई नै आधार बनाएर प्रहरीले पहिले अरुलाई अनुसन्धान गरेपछि आफूलाई पनि मुद्दा लगाएको बताए ।
“यो आपत्तिजनक छ,” उनले भने, “अदालतमा उपस्थित हुन्छु । अदालतले पक्कै पनि न्याय दिनेछ भन्नेमा मलाई विश्वास छ ।” पत्रकार दाहाल नेपाल पुकारसँग आवद्ध छन् ।