
काठमाडौं । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा मार्गप्रशस्त गर्न उनीहरूले आग्रह गरेका हुन् ।
माओवादीका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएको समाचार आइरहेको बताए । उनले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।
“राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुस्,” उनले भने । उनले राजीनामा नदिए सदनको कारबाही अघि बढ्न नदिने चेतावनीसमेत दिए ।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका छन् ।