
चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तक्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिइन् । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो ।
अस्पतालले यो सेवा सुरु गरेसँगै १२ हजार रुपैयाँमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्सेनि कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन ।
रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा. पाण्डेले भनिन्, “रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।”
एकजना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए ।
यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलाई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।रासस