
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेका छन् । आइतबार (जेठ ११) मन्त्रालयका सचिवसहित उच्चस्तरीय अधिकारीसँगै उनले निर्माणाधीन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
त्यस अवसरमा सञ्चारकर्मीसँग मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताए । लामो समयको प्रतीक्षापछि सञ्चालनको तयारीमा रहेको सुरुङमार्गको सब–अपरेसनको काम आउँदो कात्तिक ७ गतेदेखि थालिने उनले उल्लेख गरे ।
“हामी अगामी कात्तिक ७ गतेदेखि सामान्य सब–अपरेसनको कामचाहिँ सुरु गर्छौं । सिभिल वर्क अक्टोबर २५ मा सकिन्छ,” उनले भने, “त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ ।”
मन्त्री दाहालले सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । “यसलाई पूर्ण रूपमा अगामी वर्षको जनवरी १ देखि सुरु गर्ने भनेका छौँ । तर, त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनको लागि डेमोजस्तो गरेर यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि कामहरू गर्छौं,” उनले भने ।
नेपालको सुरुङ युगको सुरुआत नागढुंगा–सिस्नेखोलाबाट गरिने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल