
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमणमा गएका बताएका छन् । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि उनले भण्डारी एमाले आन्दोलनकै नेता भएकाले उनको टिममा एमालेका नेता रहनु स्वाभाविक रहेको जिकिर गरे ।
यसैबीच, एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । देशभरका सबै पालिकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए ।
बैठकले गणतन्त्रलाई सबल र सदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए ।
उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे ।