site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नग्न क्लब

धनाढ्य साथीले भन्यो, ‘लौ हिँड्, आज म तँलाई नग्न क्लबमा लिएर जान्छु ।’

उसले के थियो नग्न क्लब भन्नु, मेरो धनाढ्य साथीको पछिपछि हिँड्ने म थिएँ, एक किसिमको धुपौरे ।

धनाढ्यहरू अहम् सन्तुष्टिका लागि एक न एक पिछलग्गु पालेकै हुन्छन्, ख्वाएर—पियाएर अर्थात् लालनपालन गरेर ।

Argakhachi Cement Island Ad

मेरो साथी धनाढ्य थियो, नवधनाढ्य, जनताका बीच एक किसिमको हल्ला पनि थियो— बिचौलिया हो ऊ । उसको इसारामा ठूलठूला निर्णय हुन्छन्, सत्ताको संरचनामा ।

तर, यस्तो ऊ बाहिर बडो स्वच्छ र सदाचारी देखिन्थ्यो । म थिएँ उसको पिछलग्गु । उसलाई रिस उठेको बेलामा मैले गाला थापिदिनुपर्थ्यो ।

यो एउटा चलन नै थियो । उसको रिस मर्ने उपाय । सजिलैसँग ऊ मलाई भकुर्थ्यो र म ऐयाआत्थु नगरी सहन्थेँ ।

नियम नै यही थियो । ऐयाआत्थु गरेर चिच्याउनुपर्ने खण्ड भए ऊ त्यही भन्थ्यो, ‘लौ चिच्च्या साले, म उत्तेजित हुने गरी !’ 

हेर्दा एक किसिमले अपत्यारिलो थियो यो, तर भइरहेको यही थियो ।

मलाई पनि हाइसन्चो थियो । बिचौलिया भनेर चिनेको थिएँ उसलाई । म जर्खरिलो थिएँ, ऊ काम नगरी मात्र बिचौलिया दिमाग लडाएर अकुत कमाइसकेको धनाढ्य भएकाले फितलो थियो, शारीरिक शक्तिमा ।

तर, सर्टकटमा कुरो यो उसले मलाई नग्न क्लबमा लैजाने भयो । मैले सहज अनुवादमा भनेँ, ‘नग्न क्लब भनेको नांगाहरूको क्लब ?’

उसले नक्कली रिस देखाएर भन्यो, ‘धेरै नबोल् ए, अहिले खालास् !’

म पनि कम थिइनँ, नक्कली रूपमै डराएझैँ गरेर खुम्चेर देखाएँ ।

राति अबेर हामी नग्न क्लब पुग्यौँ । बाहिरबाट हेर्दा क्लब भएको भवन कुनै पवित्र कार्यका लागि बनाइएको अनुहारको थियो । भित्रपट्टि विलासिताका सामग्री थिए ।

तर, आवरणमा भनिएको थियो, ‘ध्यानद्वारा मानसिक शान्ति प्राप्त गर्ने स्थल ।’ 

अनि, थपमा लेखिएको थियो, ‘के तपाईं आफ्नो नग्न जीवन प्रत्यक्ष देख्न चाहनुहुन्छ ? आउनोस्, हामी तपाईंलाई त्यो सहज ध्यानद्वारा प्रत्यक्ष देखाइदिन्छौँ ।’

धनाढ्य साथीले भनेको थियो, ‘यहाँ माथिल्ला तहका नेता, सत्तासीन र सत्तामा गोटी बसाल्नेहरू बढी आउँछन्् । तँलाईं म मेरो सेवकका रूपमा लैजाँदै छु । तँ भाग्यमानी होस्, यही जन्ममा यस्तायस्ता व्यक्तिहरूको नग्नता देख्न पाइस् !’

भवनभित्र चहलपहल बढ्दै गयो । एकभन्दा अर्को दामी कारमा क्लबका सदस्य — जो एकभन्दा अर्का धनपैसा कमाउनमा माहिर थिए र जसको नाम दुर्नाम हुँदो थियो वा भइसकेको थियो – ती सबै त्यहाँ जम्मा भए ।

सबैले सबैलाई चिनेका रहेछन् । नचिन्ने कुरो पनि भएन । पालैपालो खाइरहेका थिए । खानमा माहिर र कुर्सी अधीनमा गर्न पोख्तहरू थिए त्यहाँ । गोटी चाल्नेहरू पनि थिए, जसलाई हामी बिचौलिया भन्थ्यौँ ।

सबैको अनुहार अलगअलग थियो, तर सबैका भाषा एकैनासको थियो । नीति एउटै र कार्यशैली पनि एउटै । तर, शीर्षस्थहरू जसलाई भ्रष्टाचारले पनि छुँदैनथ्यो, त्यस्ता पवित्रता लिएको अनुहार र पहिरनमा ।

कसैले श्रीमती पनि सँगै ल्याएका थिए । के ती श्रीमतीहरू पनि लज्जा र मर्यादा त्यागेर नग्न हुने हुन् ? प्रश्नले मलाई सताइरहेको थियो र भित्रभित्र मलाई कुतकुती लागिरहेको पनि थियो ।

समय आयो र घोषणा भयो, ‘नांगिने समय आयो ।’

सबै आआफ्ना कोठाहरूतिर लागे जुन पहिलेदेखि तिनका नाममा दर्ता थियो । कोठाका लागि मोटो रकम क्लबले असुल गर्थ्यो । यहाँ सित्तैमा केही पनि थिएन । हल्ला यो थियो– यो व्यभिचारको अड्डा हो ।

क्लबको एउटा ठूलो सभाहल पनि थियो, जसमा नग्नहरू आँखामा कालो पट्टी बाँधेपछि नांगै जम्मा भएर सदाचार नैतिकताको गायन पनि गर्थे ।

सबै नांगिएछन् । म पनि नांगिनै पर्‍यो । मेरो लागि स्पेसल छुट थिएन । मेरो धनाढ्य साथी भनूँ वा मालिक पनि नांगियो । तर, एउटा अनिवार्य बन्देज थियो – सबैले आँखामा कालो पट्टी बाँध्नुपर्ने । 

नांगिनुअघि नै बाँध्नुपर्ने रहेछ कालो पट्टी । कारण भन्यो मेरो धनाढ्यले, ‘नांगा त हामी छौँ नै हेर्न नसक्ने गरी, तर एउटा मर्यादा यही हो हामीले बनाएको – एकले अर्कालाई ननंग्याउने, नांगिएको नहेर्ने ।’

मेरा आँखामा कालो पट्टी थियो, स्वेच्छाले बाँधेको भनूँ वा अर्काको नग्नता पनि नहेर्ने र आफ्नो पनि नदेखाउने कालो मर्यादाका कारण ।

यसले के फाइदा ? आँखामा कालो पट्टी बाँधेको बाँध्यै मैले आफैँसँग प्रश्न गरेँ । प्रश्नले अति भएपछि मैले धनाढ्यलाई सोधेँ यही कुरो, ‘यसले के फाइदा ?’

उसले हाँस्दै भन्यो, ‘आँखामा कालो पट्टी नहुने हो भने हामीहरू जो यहाँ जम्मा भएका छौँ – तिनको नग्नता हेर्न लायक छैन । सबै नांगा छन् भन्ने ज्ञान नै पर्याप्त छ । नग्नताको भयावहता हेर्न लायक छैन ।’

चित्त बुझेन भनौँ भने गोदाइ पाउन सकिन्थ्यो, ‘बुझेँ’ भनेर टाउको हल्लाएँ । तर, उसले मेरो टाउको हल्लिएको देखेन होला । कारण, उसको आँखामा पनि कालो पट्टी बाँधिएको छ ।

कालो पट्टी बाँधेरै हामी सदाचार नैतिकताको गान गाउने सभाहलतिर लाग्यौँ ।  
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्