
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो आह्वान गरेका हुन् ।
उनले मनसुनको समयमा हुने विपद् जोखिम न्यूनीकरण गर्नेबारेका छलफल भएको बताए । र्याफ्टिङ एसोसिएसन र पर्वतारोहण संघलगायत निजी क्षेत्रसँग छलफल भएको उनले बताए ।
“अहिले हामी पूर्वमनसुनको अवस्थामा छौँ । केही समयपछि मनसुन प्रारम्भ हुन्छ । प्राधिकरणले निरन्तर रूपले मनसुनको बेलामा हुने विपद्का जोखिम न्यूनीकरण गर्ने र विपद् भए त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निरन्तर छलफल र तयारी गरिरहेको छ,” उनले भने ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले प्राधिकरण निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको उल्लेख गरे । हिमाली क्षेत्रमा उद्धारका लागि र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि र्याफ्टिङ एसोसिएसनसँग छलफल गरेको बताए । छलफलमा दुवै संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएको उनले बताए ।