
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।
०८१ चैत २१ गते मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएपछि पाण्डेलाई स्पष्टीकरण सोधिएको हो ।
११ बुँदे मागसहित बुझाएको ज्ञापनपत्रको एउटा बुँदामा स्पष्टीकरण सोधिएको प्रमुख प्रशासकीय अधिकृतनिकट स्रोतले बतायो । “कर्मचारी संगठनले बुझाएको ज्ञापनपत्रका आधारमा स्पष्टीकरण सोधिएको हो । २४ घण्टाभित्र केही कुरा आउला, हेरौँ,” स्रोतले भन्यो ।
त्यसदिन पाण्डे र बालेनका स्वकीय सचिव भूपदेव शाहको भूमिकाप्रति आपत्ति जनाउँदै महानगरका कर्मचारी तथा पेसागत संगठनले गुरागाईंलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरिएको थियो ।
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरी गठन, रेखदेख तथा नियन्त्रणसम्बन्धी व्यवस्था छ ।
“महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,” ऐनमा भनिएको छ ।
स्पष्टीकरणको विषयमा पाण्डेले प्रतिक्रिया दिन चाहेनन् ।