
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उनले विधेयक जनताको पक्षमा नभएको बताइन् । अध्यादेशमा आउँदा नै विवादित विधेयक फेरि ल्याउनुले सरकार बिचौलियाको स्वार्थमा दृढ संकल्पित छ भन्ने कुरालाई पुनर्पुष्टि गरेको उनले आरोप लगाइन् ।
“सरकार जनताप्रति समर्पित छैन । निश्चित व्यक्ति, समूहको सेवामा समर्पित छ भन्ने कुरालाई नै प्रमाणित गर्दछ,” उनले आरोप लगाइन् ।
उनले घरजग्गा बिक्रीसम्बन्धी व्यवस्थाको पनि विरोध गरिन् । उनले विधेयक जनताका लागि हानिकारक भएको दाबी समेत गरिन् । उनले भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउने व्यवस्था गरेजस्तो गरी भूमिहीनलाई बसोवास गरेको ठाउँबाट हटाउन खोजेको दाबी गरिन् ।
“राष्ट्रिय निकुञ्ज र वनको नाममा रहेको जग्गालाई पुनः नक्सांकनको माध्यमबाट सरकारको नाममा ल्याई महत्त्वपूर्ण जग्गा कौडीको भाउमा लिजमा दिएर तथा बाँढेर जग्गाको दुरुपयोग गर्ने उदेश्य राखेको छ,” उनले भनिन् ।
उनले यो विधेयक वनको संरक्षण गर्न नभई महत्त्वपूर्ण जग्गा हडप्नका लागि ल्याइएको आरोप समेत लगाइन् ।