
गोरखा । जिल्लाको गोरखा नगरपालिका–१०, छेपेटारमा ‘१७औँ शताब्दीको’ भग्नावशेष भेटिएको छ । पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष १७औँदेखि १८औँ शताब्दीका मन्दिरका हुन सक्ने अनुमान गरिएको हो ।
छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष उक्त क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्त्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्त्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो ।
हाल भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ । “हामीले नौ दिन लगाएर उत्खनन गर्यौँ,” विभागका अधिकृत अधिकारीले भने, “यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुंगा, जगको ढुंगा ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो । तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन् । इँटा, ढुंगा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो १७औँदेखि १८औँ शताब्दीमा बनेका हुन सक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।”
यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उनले बताए ।
उक्त स्थानमा ०३४ सालमा राममन्दिर बनाउँदा समेत केही भग्नावशेष नष्ट भएको थियो । “गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पिपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ,” अधिकारीले भने, “अहिलेको कार्यादेशानुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ । तर, अझै सकिएको छैन । अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”
उनका अनुसार, भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । “जग हेर्दा इँटा, ढुंगाबाट निर्माण भएको र झिंगटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ,” उनले भने ।
विस्तृत अध्ययननिम्ति दक्षिण–पूर्व राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले बताए । “दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ । यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ,” उनले भने ।
हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए । तत्काल उक्त क्षेत्रमा उत्खनन र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रह समेत गरेको छ । रासस