
काठमाडौं । ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टी सभापति शेरबहादुर देउवालाई र्याखर्याख्ती पारेका छन् ।
उनले ऊर्जा राज्यमन्त्रीबाट हटाइएकामा आफूलाई आपत्ति नरहेको बताए । तर, पार्टी सभापतिले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएकामा आफ्नो आपत्ति रहेको उनले बताए ।
स्रोतका अनुसार, शनिबार (जेठ ३) संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तामाङले आक्रोश पोखेका हुन् । कांग्रेसलाई सरकारमै राखेर ओलीले आक्रमण गरिरहेको भन्दै उनले पार्टीले त्यसको उचित प्रतिवाद गर्न नसकेको बताए ।
स्वर्णिम सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईको विषय उठाएर उनले आफ्नो भनाइ सुरु गरेका थिए । राईलाई अमानवीय व्यवहार गरेर हिरासतमा राखिएको उनको आरोप थियो ।
“दुई वर्षको सानो बच्चा भएकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य र सांसद रहेकी माया राईलाई घरबाट लगेको खाना खान समेत दिएको थिएन । दुई वर्षको नाबालक बच्चा लिएर बसेको व्यक्तिलाई झुल समेत दिएको थिएन,” तामाङले दल बैठकमा भने, “हामीले धेरै आवाज उठायौँ, त्यसपछि उहाँलाई घरबाट लगेको खाना दिइयो । झुलको व्यवस्था पनि भयो ।”
उनले पार्टीको केन्द्रीय सदस्य र सांसदमाथि त्यस्तो व्यवहार गरिँदा हिरासतमा सामान्य नागरिकको कस्तो अवस्था होला भन्दै आवाज उठाएका थिए ।
स्रोतका अनुसार, उनले नेता मोहनबहादुर बस्नेत पक्राउप्रति पनि आफ्नो शंका रहेको बताए । आफ्नो क्षेत्रमा आफैँ जित्न सक्ने सशक्त व्यक्ति छानीछानी तह लाउने प्रयास भएको उनले आरोप लगाए ।
त्यसपछि उनले आफ्नो विषयमा संसदीय दलका नेता देउवाविरुद्ध नै आक्रोश भएका थिए । “तपाईं कांग्रेसको केन्द्रीय सभापति हुनुहुन्छ, म तपाईंकै समूहबाट जिल्ला सभापति छु,” सांसद तामाङले भने, “तपाईंले नै टिकट दिएर सांसद भएको, तपाईंले नै सिफारिस गरेर मन्त्री भएको, मलाई केपी ओलीले हटाउने हो कि तपाईंले हटाउने हो ?”
उनले पार्टीले सिफारिस गरेको व्यक्तिलाई दलले नै फिर्ता बोलाउनुपर्ने तर्क गरे । नेता–कार्यकर्तामाथि अन्याय हुँदा पार्टीबाट संरक्षण गरिनुपर्नेमा उनले जोड दिए ।
“जसरी माया राईलाई कुनै सहयोग भएन, त्यसरी नै मेरो विषय पनि पार्टीले उठान गरेन,” उनले भने, “मलाई पदबाट हटाएकोमा कुनै आपत्ति छैन । तर, पार्टीले पठाएको व्यक्तिलाई पार्टीले फिर्ता बोलाउनुपर्थ्यो । ओलीले बर्खास्त गर्ने र पार्टी नेतृत्व मौन बस्ने ठिक भएन ।”
उनले कुलमान घिसिङका पक्षमा बोलेर आफूले कांग्रेसलाई बचाउने प्रयत्न गरेको बताए । जनताको मतविपरीत कुलमान हटाउन खोज्दा आफूले विरोध गरेको उनको भनाइ थियो ।
“जनताले कुलमान ठिक भनिराखेको थियो । मलाई हटाउँदाखेरि सरकारकै शिर गिरेको छ,” उनले भने, “मैले त जनताको चाहनाअनुसार कुलमानको पक्षमा बोलेर पार्टीको साख जोगाएको थिएँ ।”
अन्त्यमा उनले प्रधानमन्त्री ओलीका सबै गतिविधिमा समर्थन गर्दै गए पार्टीलाई गम्भीर समस्यामा पुर्याउने चेतावनी दिएका थिए । देउवाले भने उनलाई कुनै जवाफ फर्काएनन् ।