
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दोहा विमानस्थलमा उत्रिएसँगै अमेरिका र कतारबीचको सम्बन्धमा उल्लेखनीय परिवर्तनको नयाँ अध्याय सुरु भयो । कतार ट्रम्पको मध्यपूर्व देश भ्रमणको दोस्रो गन्तव्य हो ।
उनको यो यात्रामा कतारलाई २१० वटासम्म जेट विमान बेच्ने र भविष्यमा ३८ अर्ब डलरको रक्षा लगानी गर्ने सम्झौता भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल मिशेलले बीबीसी अरबीलाई भने, “अमेरिका र कतारबीचको सम्बन्ध रणनीतिक छ र आज पनि त्यस्तै छ । यसले खाडी क्षेत्रमा अमेरिकी नीतिको एक स्तम्भको प्रतिनिधित्व गर्छ ।”
तर, सन् २०२५ मा भएको यो भव्य स्वागत समारोहको विपरीत २०१७ को खाडी संकटकालमा ट्रम्पले कडा व्यवहार देखाएका थिए । यो परिवर्तन दुई देशबीचको सम्बन्ध कसरी तनावबाट सहमति, प्रतिस्पर्धाबाट सहयोगतर्फ अग्रसर भयो भन्ने प्रतीक हो ।
ट्रम्पको पहिलो कार्यकाल
सन् २०१७ जुनमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारको बहिष्कार घोषणा गर्दा खाडी देशमा गहिरो राजनीतिक संकट उत्पन्न भएको थियो । खाडीमा यो संकट अचानक आएको होइन । यो एकतर्फ कतार र अर्कोतर्फ साउदी अरब, यूएई, बहराइन र इजिप्टबीच लामो समयदेखि चलेको राजनीतिक र वैचारिक मतभेदको परिणति थियो ।
तनावको कारण विभिन्न संवेदनशील क्षेत्रीय मुद्दा थिए । तीमध्ये प्रमुख थियो, ‘अरब स्प्रिङ’को विद्रोहलाई कतारले गरेको समर्थन, विशेष गरी इजिप्टमा । साथै, मुस्लिम ब्रदरहुडसँग कतारको गठजोड पनि एउटा कारण बनेको थियो, जसलाई धेरै देश उग्रवादी संगठन ठान्छन् ।
कतारमाथि इरानसँग सम्बन्ध बढाएको, विपक्षी नेताहरूलाई आश्रय दिएको र अलजजिराजस्ता मिडिया संस्थालाई राजनीतिक प्रभावको साधन बनाएको आरोप लगाइएको थियो ।
त्यति बेला कतारले उग्रवादलाई समर्थन गरेको सबै आरोप खारेज गरेको थियो । र, आफ्नो विरुद्ध लगाइएको नाकाबन्दीलाई सम्प्रभुताको उल्लंघन भनेको थियो ।
कतारले इरानसँग सम्बन्ध कम गर्ने, अलजजिरा बन्द गर्ने, त्यहाँ टर्कीको सैन्य अड्डा बन्द गर्ने, मुस्लिम ब्रदरहुडलाई समर्थन रोक्ने माग मान्न अस्वीकार गर्यो ।
कतारले यी मागलाई अवास्तविक र आफ्नो राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप भनेर खारेज गर्यो । तर, उसले वार्तामा सहभागी हुने इच्छा जाहेर गर्यो ।
यो अवधिमा कतारले अन्तर्राष्ट्रिय समर्थन माग्यो । कानुनी उपाय सक्रिय गर्यो र क्षतिपूर्ति दाबी गर्ने समिति गठन गर्यो ।
त्यति बेला अमेरिकी राष्ट्रपति ट्रम्पले कतार बहिष्कारको स्पष्ट समर्थन गरेर संघर्षमा उत्रनु आश्चर्यजनक थियो । ट्रम्पले त्यति बेला ट्विट गर्दै भनेका थिए कि खाडी देशहरू कतारमाथि आरोप लगाइरहेका छन् । यो कुनै अमेरिकी राष्ट्रपतिको परम्परागत अडानभन्दा विपरीत थियो, खासगरी खाडी देशहरूप्रति र विशेष गरी कतारप्रति अमेरिकी विदेश नीतिको सन्दर्भमा ।
तर, यो आक्रामक बयानबाजीलाई अमेरिकी प्रशासनभित्रैबाटै प्रतिरोध भयो । केही दिनभित्रै विदेश मन्त्रालय र रक्षा मन्त्रालयले राष्ट्रपतिको भनाइविपरीत खाडी एकताको महत्त्व र उग्रवादविरुद्ध लडाइँमा कतारको भूमिकामा जोड दिए ।
कतारमा अमेरिकी सैन्य अड्डा
अमेरिकी रक्षा मन्त्रालयले कतारविरुद्ध लगाइएको नाकाबन्दीले अल उदीद एयर बेसमा सैन्य अभियान जटिल भइरहेको चेतावनी दिएको थियो । यो मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो वायुसेना अड्डा हो । त्यहाँ उसका १० हजारभन्दा बढी सैनिक तैनाथ थिए ।
प्रशासनभित्रै यस्तो विभाजित राय देखेपछि तत्कालीन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले तुरुन्तै दबाबको सट्टा वार्ताका माध्यमबाट नाकाबन्दी हटाउन आह्वान गरे । उनले यो संकटले क्षेत्रमा अमेरिकी प्रयासलाई कमजोर पार्दै विदेशी हस्तक्षेपको मार्ग खोल्न सक्ने चेतावनी पनि दिए ।
रेक्स टिलरसनको यो भाषण केवल कूटनीतिक बयान मात्र होइन, २०१८ जनवरीमा अमेरिका–कतार वार्ताका रूपमा परिणत हुने ठूलो प्रक्रियाको सुरुआत थियो । दुवै देशका विदेश र रक्षामन्त्रीहरूले साझा विज्ञप्ति जारी गरे । त्यसमा कतारको सुरक्षालाई अमेरिकी समर्थन र कुनै पनि बाह्य खतराविरुद्ध एकजुट हुने प्रतिबद्धता उल्लेख थियो ।
यो एक महत्त्वपूर्ण पल थियो, जब सम्बन्ध विश्वासको संकटबाट निस्केर सामञ्जस्यपूर्ण साझेदारीमा परिणत भयो ।
समय बित्दै जाँदा कतारले अमेरिकामा गरेको केन्द्रित प्रयासको फल पाउन थाल्यो । उसले पेन्टागनसँग सम्बन्ध मजबुत गरी १२ अर्ब डलरमा एफ–१५ लडाकु जेट खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्यो । उसले अमेरिकी संस्थासँग प्रत्यक्ष संवाद च्यानल पनि स्थापना गर्यो । यसको नतिजास्वरूप २०१८ मा दुवै देशबीच रणनीतिक वार्ता प्रणाली सुरु भयो ।
यो प्रणालीमा दुवै देशका विदेश र रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू सामेल भए । पछि जारी गरिएको विज्ञप्तिमा अमेरिका कतारलाई कुनै पनि बाह्य खतराबाट जोगाउन सहयोग गर्न तयार रहेको घोषणा गरियो । खाडी देशहरूबीचको विवाद चरममा हुँदा यसले बहिष्कार गर्ने मुलुकलाई राजनीतिक सन्देश पनि पठायो ।
कतारले यसैबीच अल उदीद एयर बेस विस्तार र अमेरिकी सैनिक परिवारका निम्ति सुविधा उन्नत गर्ने योजना घोषणा गर्यो । वास्तवमा कतारले यो सैन्य अड्डाको पुनर्निर्माणमा अर्बौं डलर लगानी गरेको छ, जसले अमेरिकासँगको दीर्घकालीन सुरक्षा साझेदारीप्रति उसको प्रतिबद्धता देखाउँछ ।
प्रमुख गैरनेटो सहयोगी
कूटनीतिक रूपमा कतारले जटिल मुद्दा समाधान गर्ने विश्वसनीय मध्यस्थका रूपमा आफ्नो पहिचान बनाएको छ । उसले अमेरिका र तालिबानबीच शान्ति वार्ता आयोजना गर्यो, जसको परिणामस्वरूप २०२० फेब्रुअरीमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर भयो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको उपस्थितिमा यो सम्झौता सम्पन्न भएको थियो ।
सन् २०२१ सम्म जब ट्रम्पको पहिलो कार्यकाल समाप्तितर्फ थियो, कतारले अमेरिकी समर्थनबाट आफ्नो पूर्वक्षेत्रीय सन्तुलन फिर्ता पाइसकेको थियो । उक्त वर्ष नै कतारविरुद्धको बहिष्कार औपचारिक रूपमा समाप्त भयो ।
कतार र अमेरिकाबीचको मतभेदको अवधि लामो चलेन
माइकल मिशेलले बीबीसी अरबीलाई भने, “हामीले संवेदनशील कूटनीतिक मुद्दाहरूबाहेक पनि रक्षा, ऊर्जा र इनोभेसनजस्ता क्षेत्रमा सहयोगको विस्तार देखेका छौँ । कतारलाई प्रमुख गैरनेटो सहयोगी घोषणा गरेपछि अमेरिकी रणनीतिमा यसको स्थिति स्पष्ट र स्थिर बनेको छ । हालको प्रशासनले कतारलाई द्विपक्षीय मात्र होइन, क्षेत्रीय सन्तुलन र राजनीतिक समाधानका निम्ति पनि विश्वसनीय दीर्घकालीन साझेदारका रूपमा हेरेको छ ।”
विदेश नीतिमा परिवर्तनको प्रश्नमा उनले भने, “ऐतिहासिक रूपमा अमेरिकी विदेश नीतिको विशेषता यसको लचिलोपन हो, जसले विभिन्न दृष्टिकोण र परिवर्तनशील रणनीतिहरूलाई समेट्न सक्छ ।”
ट्रम्पको दोस्रो कार्यकाल र कतार
डोनाल्ड ट्रम्पले २०२५ मा पुनः राष्ट्रपतिको पद सम्हालेपछि कतारसँग अमेरिकाको सम्बन्धले नयाँ अध्याय सुरु गरेको छ । यसलाई कूटनीतिक र दुवैबीच भइरहेका विभिन्न सम्झौताका रूपमा हेर्न सकिन्छ ।
अमेरिकी मिडिया रिपोर्टअनुसार, राष्ट्रपति ट्रम्प प्रशासनले एयरफोर्स वान (राष्ट्रपतिको विमान)को अस्थायी प्रतिस्थापनका रूपमा कतारी राजपरिवारबाट लक्जरी बोइङ ७४७–८ विमान प्राप्त गर्ने योजना बनाएको छ । यो विमानको मूल्य करिब ४० करोड डलर छ । र, यो ट्रम्पको कार्यकाल समाप्तिपछि राष्ट्रपति पुस्तकालयलाई दिइने बताइएको छ ।
ट्रम्प प्रशासनले कतारबाट अनुमानित ४० करोड डलर मूल्यको एउटा विमान स्वीकार गरेको छ । तर, यसले संवैधानिक र नैतिक प्रश्न उठाएको भन्दै अमेरिकाभित्र तीव्र आलोचना भएको छ ।
सम्बन्धको भविष्य
क्षेत्रीय भू–राजनीतिमा तीव्र परिवर्तन भइरहेका बेलामा अमेरिका र कतारबीचको सम्बन्ध पहिलेभन्दा बलियो देखिन्छ ।
बीबीसी अरबीसँगको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल मिशेलले कतारसँगको रक्षा सहयोगलाई सबैभन्दा महत्त्वपूर्ण बताए । उनले भने, “अल उदीद एयर बेस मध्यपूर्वमा अमेरिकी अभियानहरूको मुख्य आधार बनेको छ ।”
उनले हालका प्राथमिकतामा प्रशिक्षण कार्यक्रमको समर्थन, सैन्य प्रविधि हस्तान्तरण, ड्रोन र साइबर आक्रमणजस्ता अन्तर्राष्ट्रिय चुनौतीसँग सामना गर्न संयुक्त तयारी र रक्षा पूर्वाधार आधुनिकीकरणलाई पनि समावेश गरेका थिए ।
मिशेलले कतारलाई विभिन्न पक्षसँग संवाद गर्ने असाधारण क्षमता भएको विश्वसनीय मध्यस्थ कदमका रूपमा चित्रित गरे । उनले चीन र रुसजस्ता विश्वका शक्तिसँग प्रतिस्पर्धाको सन्दर्भमा कतार अमेरिकाको दृढ रणनीतिक साझेदार हुनुपर्नेमा पनि जोड दिए । बीबीसी हिन्दीबाट ।