site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘ऊनको स्वीटर’ हेरेपछि...

म कहिलेकाहीँ लेख्ने गर्छु । प्रायः समसामयिक राजनीतिक र अर्थ व्यवस्थामा लेख्न मन पराउँथे । तर, केही समययता मैले लेख्न छाडेको छु । लेख्न छाड्नुका अनेक कारण छन् । त्यसमध्ये प्रमुख कारणचाहिँ देश र आफ्नो समेतको अवस्था नीरस रहँदा जाँगर मरेर गयो ।

काठमाडौंका सिनेमा हलहरूमा चलिरहेको छ, नेपाली सिनेमा ‘ऊनको स्वीटर’ । मिडिया र सामाजिक सञ्जाल समेतमा यसको चर्चा उत्कर्षमा रहँदा म पनि वैशाख ३१ गते हेर्न गएँ, ‘ऊनको स्वीटर ।’ त्यो सिनेमा हेरेपछि मलाई अनुभूति लेखौँलेखौँ लाग्यो ।

तीस/चालीसको दशकतिर नेपाली भाषाका सिनेमा खासै बन्दैनथ्यो । काठमाडौंमा तीनवटा, पाटनमा एउटा र भक्तपुरमा एउटा हल थियो । अंग्रेजी भाषाका सिनेमा पनि खासै चल्दैनथ्यो । तिनताका सिनेमा हेर्ने भनेकै हिन्दी मात्र थियो । त्यो पनि अचेलजस्तो भारतमा रिलिज भएको दिनै नेपालमा कहाँ चल्थ्यो र ! इन्डियामा महिनौँ चलेपछि, कहिलेकाहीँ त वर्षौंपछि मात्र नेपालमा रिलिज हुन्थ्यो ।

काठमाडौंमा स्कुल पढ्दा सिनेमा भनेपछि भुतुक्कै भइन्थ्यो, जबकि हिन्दी भाषा राम्रोसँग बुझिँदैन थियो । एसएलसीपछि अमृत कलेजमा आईएस्सी पढ्दा सिनेमा हेर्ने चाहना अलि कम हुँदै गयो । अमृत क्याम्पसमा चार वर्ष (२०३६ सालदेखिको राजनीतिक हलचलले आईएस्सी सकाउन ३ वर्ष ६ महिना लाग्यो)को दौरानमा सिनेमा हेर्नुभन्दा विद्यार्थी राजनीतिमा क्रियाशील हुनु र रानीपोखरीस्थित प्रतिबन्धित नेपाली कांग्रेसको कार्यालयमा किसुनजी, गणेशमानजी र गिरिजा दाजु (त्यसताका यिनै शब्दमा सम्बोधन गरिन्थ्यो)को कुरा सुन्न बढी रोमाञ्चकारी लाग्थ्यो । धेरै समय त्यही कार्यालयमा बित्थ्यो ।

२०४० सालमा इन्डियामा इन्जिनियरिङ पढ्न गइयो । त्यहाँको चारवर्षे बसाइमा हिन्दी सिनेमा हेरियो । पढाइको दबाबबाट मुक्त हुन पनि सिनेमा हेर्ने बहाना बनाइन्थ्यो ।

इन्जिनियरिङको अध्ययन सकाएर नेपाल फर्केपछि हलमै पुगेर सिनेमा हेर्ने करिबकरिब पूरै बन्द भयो । सरकारी सेवाको पहिलो १९ वर्ष प्रायः काठमाडौंबाहिर रहेँ । आफूलाई मन पर्ने कलाकार भएको सिनेमा वा केही नाम चलेको सिनेमा हेर्न मन लाग्दा टेलिभिजनको माध्यमबाट हेरियो । परिवारको चाहनामा एकाधपटक मात्र हलमै सिनेमा हेर्न गइयो होला । म त्यति धेरै सिनेमाको सौखिन होइन भन्दा अतिशयोक्ति हुँदैन ।

सेवाबाट निवृत्त भएपछि मन पर्ने कलाकारको र नाम चलेका पुराना सिनेमा (हिन्दी र अंग्रेजी भाषाका) टेलिभिजन (नेटफ्लिक्स तथा युट्युब)मा हेरियो । निवृत्त जीवनमा पनि सिनेमा हेर्नभन्दा किताब पढ्न नै बढी मन पराउँछु । नेपाली सिनेमा हिन्दी सिनेमाबाट प्रभावित (नक्कल) भएर बन्ने चलन सुरुदेखि नै भएकाले मैले यो लेखमा हिन्दी सिनेमाबारे उल्लेख गरेको हुँ ।

मलाई मन पर्ने हिन्दी सिनेमाका पुरुष कलाकारहरू सन् ७० देखि ९० दशकका कलाकार हुन् । सबैभन्दा मन पर्ने कलाकार अमिताभ बच्चन र रेखा हुन् । हिन्दी सिनेमालाई उचाइमा पुर्‍याउने केही कालजयी सिनेमाहरू छन् ।

तिनमा मलाई असाध्यै मन परेका अलि पुराना सिनेमाहरूमा नरगिशको ‘मदर इन्डिया’, वहिदा रहमानको ‘खामोशी’, गुरुदत्तको ‘प्यासा’, दिलीप कुमारका ‘मुगले आजाम’ र ‘देवदास’ हुन् । अलि पछिका सिनेमाहरूमा अमिताभ बच्चनका ‘शोले’, ‘जन्जिर’, ‘दिवार’ हुन् । राजेश खन्नाका ‘अमर प्रेम’ र ‘आनन्द’ हुन् । पछिल्लो २०/२५ वर्षमा मन छुने सिनेमाहरू खासै छन् भन्ने मलाई लागेन । तथापि, अमिर खानका केही सिनेमा राम्रा बनेका छन् । अमिताभ बच्चनका ‘पा’, ‘ब्ल्याक’ र ‘पिंक’ भने हेर्नैपर्ने सिनेमा हुन् ।

नेपाली सिनेमा मैले खासै हेरेको छैन । आजसम्म १० वटाजति पुग्यो होला । तर, नेपाली सिनेमाको बजार बढेको, कलाकारहरूले सिनेमामा काम गरेर सम्मानको जिन्दगी बिताउन सक्ने र अभिनयलाई पेसा बनाउन सक्ने जुन वातावरण बनेको छ, त्यसले मलाई अत्यन्त खुसी बनाएको छ । तथापि, नेपाली सिनेमा धेरै विधामा परिष्कृत हुन बाँकी छ ।

मैले बजारमा चर्चा चलेको कबड्डी (पछिल्लो) र छक्का पञ्जा (पहिलो) हलमै गएर हेरेको छु । यी दुवै सिनेमाले व्यापार राम्रो गरेको सुनेको र पढेको छु । सिनेमा बन्नुको पहिलो उद्देश्य व्यापार राम्रो गर्नु हो । यस मानेमा कबड्डी र छक्का पञ्जा सफल सिनेमा हुन् । तर, कबड्डी र छक्का पञ्जाको स्तरको सिनेमाले नेपाली सिनेमालाई उद्योगमा रूपान्तरण गर्न सक्दैन ।

मेरो विचारमा सिनेमाले व्यापार पनि राम्रो गर्नुपर्छ । साथसाथै, सिनेमाले दर्शकको मन छुनु पनि पर्छ – जसले एउटा सिनेमा हेरेर हलबाट निस्किँदै गर्दा दर्शकको मनमा अर्को सिनेमा कहिले आउँछ होला भन्ने उत्सुकता पैदा गरोस् ।

प्रायः सिनेमामा प्रेमी र प्रेमिका कसरी एकापसमा प्रेममा परे भन्ने कुरालाई लम्बेचौडे कथा बनाएर तानिएको हुन्छ, जुन प्रायशः पट्यार लाग्दो हुने गर्छ । ‘ऊनको स्वीटर’को खासियत भनेको प्रेममा परेको कथालाई भन्दा प्रेमलाई महत्त्व दिएको छ ।

यो सिनेमामा दुई जोडी प्रेमी र प्रेमिकाको कथा छ । प्रेम कथा अन्तरजातीय छ । एउटा प्रेमको अन्त दुःखकष्ट झेलेर सुखान्तमा परिणत हुन्छ भने अर्को प्रेम दुःखकष्टमा नपरीकन परिस्थितिले अन्त हुन्छ । दुःखान्तवाला प्रेममा धरणीधर काफ्ले (विपीन कार्की) र फूल गुरुङ (मेरिना मगर)को कथा छ ।

धरणीधर र फूल प्रेममा बाँधिन्छन् । तिनको प्रेम पवित्र छ, निष्कलंक छ । उनका प्रेममा वासना छैन, बाहिरी आकर्षणको भूमिका छैन ।

कथाको अन्ततिर आइपुग्दा धरणीधर विभिन्न समस्यामा परेर फूललाई भेट्न जान सकिराखेका हुँदैनन् । अन्तमा जब ऊ फूललाई भेट्न जान्छ, फूल आफूले धरणीधरका लागि बुनेको स्वीटर र प्रेमपत्र छाडेर दार्जिलिङ गइसकेकी हुन्छिन् । दार्जिलिङ जाने कुरा फूलले धरणीधरलाई अघिल्लो भेटमा भनिसकेकी हुन्छे ।

धरणीधर काफ्ले फूलको पत्र पढेर र उनले बुनेको स्वीटर च्यापेर भावुक हुन्छ, एकछिन दर्शकलाई व्याकुल बनाउँछ । धरणीधर फूलले बुनेको स्वीटर लगाउँछ ।

प्रायः सबै सिनेमा सकिन लाग्नु केही समयअगाडि नै सिनेमाको अन्त्य थाहा हुन्छ । मैले जति पनि सिनेमा हेरेको छु, सिनेमा सकिनु २/४ मिनेटअगाडि नै दर्शक जर्‍याकजुरुक उठेर हलबाट निस्किन खोज्छन् । सिनेमाको अन्तिम ३/४ मिनेट महत्त्वको हुँदैन ।

सिनेमाको समय र कथाले धरणीधर दार्जिलिङ जान सक्दैन भन्ने लागिसकेको हुन्छ । एउटा जीप पहाडको बाटो दौडिन थाल्छ । सम्भवतः त्यसमा धरणीधर बसेको हुन्छ । यत्तिकैमा सिनेमाको पर्दामा कास्टिङ एन्ड क्रुको नाम आउन थाल्छ । यसको अर्थ सिनेमा सिद्धियो र धरणीधर र फूलको अब भेट हुँदैन भन्ने कुरा सिनेमाले भन्छ । यो सिलसिला ३/४ मिनेटजति चल्छ ।

दर्शकलाई धरणीधर र फूलको बिछोडले दुःखी बनाएको हुन्छ । सिनेमा सकिएको जानकारीका साथ त्यो गाडी कुदिरहन्छ । सिनेमा सकिन्छ । पर्दामा बत्ती बल्छ । पर्दामा बत्ती बल्दा समेत मैले एउटा पनि दर्शक जर्‍याकजुरुक गरेर सिटबाट ऊठेको देखिनँ । म पनि उठेको थिइनँ । त्यो गाडी कुदिरहँदा न कतै धरणीधर फूल भएको ठाउँमा पुगी पो हाल्छ कि भनेर दर्शक हलमै बाँधिएर बस्न खोज्छन्, जबकि धरणीधर र फूलको भेट नहुने दर्शकलाई थाहा भइसकेको हुन्छ । दर्शकको यो मनोभाव नै ‘ऊनको स्वीटर’ अब्बल सिनेमा बनेको छ भन्ने स्वीकारोक्ति हो ।

‘ऊनको स्वीटर’ अब्बल सिनेमा बन्नुका पछाडि निर्देशकले त्यस्तो कुनै असाधारण कुरा गरेका छैनन् । यसको सुन्दर पक्ष भनेको नेपालको संस्कृति, ह्युमर, सेन्टिमेन्ट (क्रोध, दुःख, अभाव), प्रेमालाप, वियोग सबै पक्ष दर्शकलाई कथासँग बाँधी राख्नेसम्मको हदसम्म मात्र छ । कुनै पक्षलाई अनावश्यक तन्काइएको छैन । कलाकारहरू, खास गरी विपीन कार्की र मेलिना मगरको अभिनय अत्यन्त नेचुरल (स्वाभाविक) लाग्छ । संगीत पक्ष अब्बल छ, हलमा सुन्दा लाग्छ – संगीत–कथा आफँैले सिर्जना गरेका हुन् ।

‘ऊनको स्वीटर’ राम्रो सिनेमा बनेको छ । तर, कस्तो राम्रो छ ? कसैले व्याख्या गर्न सक्दैन । यो भनेको चिनी गुलियो छ, तर कस्तो गुलियो कसैले व्याख्या गर्न नसकेको जस्तै हो । ‘ऊनको स्वीटर’का निर्देशक, सबै कलाकारहरू, संगीतको टिम सबैलाई साधुवाद । 

(लेखक नेपाल सरकारका पूर्वसचिव हुन्)
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०५:२६
प्रतिक्रिया दिनुहोस्