
काठमाडौं । माल्दिभ्सविरुद्ध जित निकाल्दै भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सेमिफाइनलको दोस्रो खेलमा भारतले माल्दिभ्सविरुद्ध ३–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
फाइनलमा अब भारतले साबिक विजेता बंगलादेशसँग युपिस्थित गोल्डेन जुब्ली रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आगामी मे १८ मा नेपाली समयानुसार ७ः१५ बजे फाइनल खेल हुनेछ ।
शुक्रबार गोल्डेन जुब्ली रंगशालामा भारतलाई जित दिलाउन ड्यानी मेईतेई, ओमाङ डोडुम र प्रशान जा जोले समान एक–एक गोल गरे ।
खेलको १४औँ मिनेटमा ड्यानीले भारतलाई अग्रता दिलाए । २१औँ मिनेटमा ओमाङले टोलीको अग्रता दोब्बर बनाए । ६६औँ मिनेटमा प्रशानले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यसअघि भारतले समूह ‘बी’को समूह बिजेता बन्दै प्रतियोगिाताको सेमिफाइनलमा स्थान बनाएको थियो । भारतले समूह चरणमा श्रीलंकालाई ८–० र नेपाललाई ४–० ले पराजित गरेको थियो ।