
काठमाडौं । धुलिखेल अस्पतालमा ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने भएको छ । यससम्बन्धी सहमतिपत्रमा नेपाल र जापानबीच शुक्रबार हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमतिपत्रमा हस्ताक्षर गरे ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
यसअघि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग यो परियोजनाको कार्यान्वयनका लागि तीन अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो ।
सहमतिपत्रमा हस्ताक्षरलगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो ।