
काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा पुनः खगराज भट्ट चुनिएका छन् । बिहीबार (जेठ १) पार्टीका शीर्ष नेताको ‘दबाब’मा भट्ट दलको नेतामा फर्किएका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दबहादुर पुन, महासचिव देव गुरुङलगायत नेताको उपस्थितिमा उनलाई दलको नेता चयन गरियो ।
माओवादीमा लामो समयदेखि सक्रिय भट्ट एकताका सुदूरपश्चिमको सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा थिए । तर, पार्टीभित्रको गुटगत लडाइँमा बीचमा उनलाई दलको नेताबाट हटाइएको थियो ।
भट्टलाई यसअघि नै पुनः दलको नेता बनाउन पार्टी केन्द्रबाट निर्देशन दिइए पनि प्रदेश टसमस भएको थिएन ।
यही जेठ २ गतेदेखि माओवादीले बैतडीबाट सुरु गर्न लागेको ‘मध्यपहाडी लोकमार्ग अभियान’का क्रममा नेताहरू कैलाली पुगेका हुन् ।