
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध बिहारको दरभंगामा एफआईआर (फर्स्ट इन्फर्मेसन रिपोर्ट) दर्ता गरिएको छ ।
बिहार कांग्रेसले मे १५ मा राज्यका विभिन्न स्थानमा शिक्षा संवाद आयोजना गर्यो । त्यसक्रममा कांग्रेस नेताहरूले राज्यका एससी, एसटी, ओबीसी छात्रावासका विद्यार्थीसित अन्तरक्रिया गरे ।
राहुल उक्त कार्यक्रमअन्तर्गत दरभंगाको अम्बेडकर छात्रावासमा संवाद गर्न चाहन्थे । दरभंगा प्रशासनले भने उनलाई अम्बेडकर छात्रावासको सट्टा टाउन हलमा विद्यार्थीसँग अन्तरक्रिया गर्न अनुमति दिएको थियो । तर, अनुमतिबिनै राहुल छात्रावासमा गए र विद्यार्थीलाई सम्बोधन गरे । अनुमतिबिना छात्रावासमा प्रवेश गरेको भन्दै जिल्ला कल्याण अधिकारी आलोक कुमारले राहुल गान्धीविरुद्ध प्रहरीमा एफआईआर दर्ता गराएका हुन् ।
दरभंगाका डीएम (जिल्ला प्रशासनिक प्रमुख) राजीव रोशनले बीबीसीलाई भने, “कुनै पनि शैक्षिक संस्थामा राजनीतिक कार्यक्रम आयोजना गर्न नपाइने नीतिगत निर्णय छ । त्यसैले हामीले उनीहरूलाई टाउन हलमा अनुमति दिएका थियौँ । तर, उनी जबरजस्ती छात्रावासमा प्रवेश गरे । उनले भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ उल्लंघन गरेका छन् । त्यसपछि उनीविरुद्ध एफआईआर दर्ता गरिएको छ ।”
राहुल बिहीबार (मे १५) बिहारको एकदिने भ्रमणमा थिए । दरभंगापछि उनी पटना आए । त्यहाँ उनले सामाजिक संगठनका कार्यकर्तासँग ‘फुले’ फिल्म हेरे । बीबीसी हिन्दीबाट ।